क्या गजब ! पढ्दै कमाउँदै

विद्यार्थीले गरेको च्याउ खेती । तस्वीर : रबिना नेपाली

गुणस्तरीय प्राविधिक शिक्षाका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको हो ।

हेमनाथ खतिवडा । साझाकथा

विद्यार्थी जीवन । अवस्था र उमेर दुवैले कमजोर । खर्चको जोहो गर्नसमेत कठिन । दिनहुँ विद्यालय आउजाउ अनि गृहकार्यमा व्यस्त । अझ परिवारको आयस्रोत नभएकाहरूलाई त कापीकलम किन्न पनि मुस्किल ।

निम्न आय भएका यस्ता वर्गका नेपाली नागरिकका परिवार अधिकांशमा यस्तै समस्या छ । मन लागेको विषय पढ्न नजिकै विद्यालय छैन । टाढा डेरा गरेर पढ्न खर्चको झनै समस्या ।

यी सबैका बाबजुद यस्ता समस्याबाट मुक्त विद्यार्थी पनि भेटिएका छन् । उनीहरू भन्छन्, ‘पढ्दै कमाउँदै छौं । खर्चको मतलब छैन ।’ कपिलवस्तुको बाणगंगा–२ पिपरास्थित जनता नमुना माविमा विद्यार्थी पढ्दै र तरकारी खेतीबाट कमाउँदै गर्छन् । उनीहरूले आलु, च्याउ, सागपातलगायत तरकारी खेती गरेका छन् ।

‘सैद्धान्तिक, व्यावहारिक र व्यावसायिक ज्ञान पनि सिक्दा सिक्दै कमाउँदै छौं’, बराहताल–४ सुर्खेतको जनज्योति माविमा पढ्दै कमाउँदै गरेकी टिका कँडेल भन्छिन्, ‘च्याउ खेती गरेर कमाउन थालेका छौं ।’

विद्यालयको उब्जाउयोग्य जग्गा छ । ‘जहाँ १ लाख रुपैयाँसम्म सहुलियत ऋण दिने व्यवस्था छ पढाइ खर्च समस्या भएन । कमाउन थालेका छौं’, उनी थप्छिन्, ‘पढ्दै कमाउदै धेरै रमाइलो छ ।’

प्रधानाध्यापक नारायण सिग्देल भन्छन्, ‘विद्यार्थीलाई आफ्नो खुट्टामा उभिन सक्ने बनाउने योजना छ ।’ उनका अनुसार, विद्यालयमा कृषि र पशु स्वास्थ्य पढाइ हुन्छ । त्यहाँ बाख्रा, कुखुरा, तरकारी खेती, बिरुवा नर्सरी छन् ।

यस्तो विद्यालयमा पढ्न पाउनु भाग्यमानी ठानेको विद्यार्थी सजन निरौला भन्छन् । उनी थप्छन्, ‘पढाइसँगै प्रयोगात्मक अभ्यास हुने गर्छ । नाफा कमाउने गरेका छौं । धेरै खुसी लागेको छ ।’

कृषि पढ्दै गरेका नुवाकोटका अविन तामाङ जनज्योति मावि सुर्खेतमा पढ्छन् । बंगुर पालन गरी मासु बिक्री गर्दै उनी पढ्दै र कमाउँदै छन् । पढाइसँगै सीप विकास पनि भएका तामाङ भन्छन्, ‘गाउँ फर्केर केही गर्ने सम्भावना देखेको छु ।’

मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा कृषि विज्ञान स्नातक तहका विद्यार्थी रबिना नेपाली आफूहरूले च्याउ तथा तरकारी खेती गरेर कमाउन थालेको बतााउँछिन् । उनी थप्छिन्, ‘हामीले ७ जनाको समूहले ३ हजार बेर्ना किनेर रोपेका छौं । खेतीका लागि कलेजको आफ्नै राम्रो प्लट छ । च्याउ खेतीबारे पढेर मात्र थाहा नहुने उनको बुझाइ छ ।

काम पनि सँगै गर्दा पढेको कुरा बिस्तृत थाहा हुने र सम्झना पनि रहने विद्यार्थीको बुझाइ छ । पढाइपछि पनि व्यवसाय गरेर जीवन चलाउन सक्ने आँट उनीहरूमा बढेको छ ।

‘आम्दानीको नाफा आफैं लिन पाउने व्यवस्था छ’, रविना सुनाउँछिन्, ‘कलेजको सहयोगमा ४५ जना विद्यार्थी जनही पैसा उठाएर च्याउ खेती गरेका छौं ।’

उदयपुरको कटारी नगरपालिका–४ त्रिवेणी माविमा कृषि प्राबिधिक पढ्दै गरेका विद्यार्थीले पनि विद्यालयमै खेतीबाट कमाउँदै पढ्दै छन् । ‘अध्ययनसँगै प्रयोगात्मक अभ्यास पनि हुने, पुस्तक पढ्ने मात्र होइन सिकेको ज्ञान व्यवहारमा उतार्न खेती गर्नु व्यावहारिक पनि हुने’, विद्यार्थी विवश लामिछाने भन्छन्, ‘हामी भविष्यमा यसैबाट जीविका चलाउन सक्छौं ।’

विद्यार्थीलाई अध्ययनसँगै अभ्यास पनि हुने भएकाले प्रभावकारी हुने विद्यालयका प्रधानाध्यापक वालकृष्ण कार्की बताउँछन् । ‘पढेको सीपलाई व्यावसायिक रूप दिन यो कार्य विद्यार्थीले नै सञ्चालन गर्ने गरेका छन् । जुन सबै पक्षबाट उत्तम कार्य हो’, उनी भन्छन् ।

दिवा समयमा विद्यालयको कक्षा कार्यसँगै विद्यार्थीले च्याउको अवस्था र यसलाई कसरी राम्रो बनाउन सकिन्छ भनेर पनि विद्यार्थी खट्ने गरेका छन् । संघीय सरकारले बजेटमार्फत सबै प्रदेशका केही विद्यालयमा नमुनाको रूपमा सुरु गर्ने उल्लेख गरे पनि सवै जिल्लामा यस्तो कार्यक्रमले भने महत्व पाएको देखिँदैन ।

तीन तहको सरकारले यसमा मध्यजनर राख्नुपर्ने देखिन्छ । गुणस्तरीय प्राविधिक शिक्षाका लागि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत पढ्दै कमाउँदै कार्यक्रम सुरु गरेको हो । यसका लागि विद्यालय सहयोग कार्यक्रम कार्यविधि २०७८ बनाइएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?