साझाकथा संवाददाता
काठमाडाैं, पुस ९
सरकार गठनका सम्बन्धमा छलफल गर्न अहिले प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठनबन्धनका शीर्षनेता बीच छलफल भइरहेकाे छ ।
प्रधानमन्त्री निवासमा साँझ सुरु भएको बैठकमा गठबन्धन दलका शीर्षनेताहरूको उपस्थिति रहेको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीयसचिव भानु देउवाले जानकारी दिए ।
नयाँ सरकारकाे नेतृत्व सत्ता गठनबन्धनका शीर्षनेता देउवा, प्रचण्ड वा माधब कसले गर्ने हाे यसबारे छलफल भइरहेकाे र साे विषयमा सहमति जुट्ने विस्वास गरेकाे बैठकमा सहभागी एक नेताले बताए ।
बैठकमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरू सहभागी छन् । नयाँ सरकार गठनलगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
गत मङ्सिर ४ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि नयाँ सरकार गठन गर्न राष्ट्रपतिले यही पुस ३ मा एक साताको समय निर्धारण गर्नुभएको थियो ।
राष्ट्रपतिले कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमतप्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।