मेलम्चीद्वारा भित्री सडक निर्माणलाई प्राथमिकता

तस्बिर : टुरिज्म समाचार

सिन्धुपाल्चोक, पुस १०

मेलम्ची बजारको बढ्दो चापलाई मध्यनजर गर्दै मेलम्ची नगरपालिकाले बजारका भित्री तथा वैकल्पिक सडक निर्माणलाई तीव्रता दिएको छ ।

मेलम्ची बजारस्थित नमूना मार्गमा अहिले भित्री सडक निर्माणको काम भइरहेको नगरपालिकाका इन्जिनियर जितबहादुर कार्कीले जानकारी दिनुभयो ।

भवन तथा सहरी विकास कार्यालय धुलिखेलमार्फत विनियोजित रु ५० लाख बजेटले काम भइरहेको सो सडक निर्माणपश्चात बजारको सवारी चाप केही हदसम्म न्यून हुने नगरपालिकाले अपेक्षा गरेको छ ।

मापदण्ड नपुगेका स्थानमा कम्पाउन्ड भत्काएर सडक विस्तार गरेको कार्कीले बताउनुभयो । पूर्वाधार विकास कार्यालय चौताराको सहयोगमा सोही सडकमा पर्ने जागेश्वरी पक्की पुल निर्माणको कामसमेत अन्तिम चरणमा पुगेको नगरपालिकाले जनाएको छ ।

पुल निर्माणको काममा केही ढिलासुस्ती भएको स्थानीयवासीको गुनासोपछि नगरपालिकाले पटक-पटक ताकेता गरे पनि पुस मसान्तसम्म सडक र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखेको इञ्जीनियर कार्कीले जानकारी दिनुभयो ।

नगरप्रमुख आइतमान तामाङले नगरपालिकाले भित्री सडक निर्माणलाई प्राथमिकता दिएको बताउनुभयो । साथै टार-पिपलबोट भित्री सडक निर्माणका लागि समेत दुई करोड विनियोजन भई खरिद प्रक्रिया अगाडि बढाइएको नगरपालिकाले जनाएको छ ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?