सरकार गठनको अन्तिम कसरतः प्याकेजमा डिल हुँदै

“सबै पदहरूमा एकमुष्ट बाँडफाँडको प्रयास हुँदै”

काठमाडाैं, पुस १०, ।

नयाँ सरकार गठनको अन्तिम कसरत स्वरूप गठबन्धनको बैठक चलिरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेको एक साताको समय सकिन लाग्दा प्रधानमन्त्री निवास बालुवाटारमा सत्तागठबन्धन दलका शीर्ष नेताहरुको बैठक आज बिहानदेखि जारी छ । कुनै बेला शिर्ष नेताहरूको छुट्टै र कुनै बेला सामूहिक बैठक चलिरहेको स्रोतले जनाएको छ ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चालगायत गठबन्धन दलहरुले विभिन्न चरणमा छलफल गरी सहमतिको प्रयास जारी राखेका देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

संसदको तेस्रो दल माओवादीले पनि प्रधानमन्त्रीमा दाबी गरेपछि काँग्रेसमा दवाव बढेको छ भने राष्ट्रपति राख्न चाहेको काँग्रेसले अन्य पदहरूमा के गर्ने निर्णय गर्न सकेको छैन ।

माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीले पनि एउटा कार्यकाल प्रधानमन्त्री चलाउने चाहना राखेको छ । तीन दलको प्रधानमन्त्रीको चाहनामा  पालैपालो गर्ने यसअघि सहमति भइसकेपनि पहिलो कार्यकाल कसको भन्ने विवाद छ ।

माओवादीका नेताहरूले संसदको अघिल्लो कार्यकालमा थोरै सिट प्राप्त गरेको काँग्रेसलाई प्रधानमन्त्रीमा समर्थन गरिसकेको उदाहरण दिँदै संख्या भन्दा पनि गठबन्धनको मर्मलाई ध्यान दिनुपर्ने तर्क गर्दै आएका छन् । काँग्रेस सांसदहरूले भने देउवालाई भेटेर माओवादीले पहिलो कार्यकाल पाउन नहुने दवाव दिएका छन् ।

हुन  त दलहरूसँग आज सहमति नभए थप प्रयासका लागि भन्दै राष्ट्रपतिसँग समय माग्ने विकल्प त छ, तर राष्ट्रपतिको विवेकमा यो भर पर्ने भएकोले दलहरू निश्चिन्त छैनन् ।

आज सहमति नभए राष्ट्रपतिले संविधानको धारा ७६(३) मा जानका लागि आह्वान गर्न सक्छिन् । संसदको ठूलो दलको संसदीय दलको नेतालाई प्रधानमन्त्रीमा  नियुक्त गर्न सक्ने प्रावधान ७६(३) मा  छ । जुन सत्तारूढ दलहरूको लागि अप्रिय हुन सक्छ भने एमालेका लागि भने सुखद हुन सक्छ ।

गठबन्धन भत्काउने प्रयास गरिरहेको एमालेले राष्ट्रपतिलाई थप समय प्रदान नगर्नका लागि प्रभाव पार्न सक्ने विश्लेषकहरू बताउँछन् ।

त्यस कारण पनि केन्द्र र प्रदेशमा गरी ३५ बढी संवैधानिक पदमा प्याकेजमा सहमति खोज्ने प्रयास भइरहेको स्रोतको दाबी छ । प्रदेशमा पनि प्रदेश प्रमुख, मुख्यमन्त्री, सभामुख लगायत विभिन्न आकर्षक पद रहेका छन् ।

गठबन्धनले यसअघि नै आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्ने सामूहिक निर्णय गरेका छन् भने गठबन्धनको नेतृत्वकर्ता दल कांग्रेसले आफ्नै नेतृत्वमा नयाँ सरकार गर्नका लागि पहल गर्ने निर्णय गरेको छ ।

हालै सम्पन्न निर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकाले राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते साँझ ५ बजेभित्र दाबी पेस गर्न आह्वान गरेकी थिइन् ।

गत मङ्सिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाका दुई सय ७५ सिटमध्ये कांग्रेस ८९, नेकपा (एमाले) ७८, नेकपा (माओवादी केन्द्र) ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राष्ट्रिय प्रजातन्त्र पार्टी १४, जनता समाजवादी पार्टी नेपाल १२, नेकपा (एकीकृत समाजवादी) १०, जनमत पार्टी ६, लोकतान्त्रिक समाजवादी पार्टी ४, नागरिक उन्मुक्ति पार्टी ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदूर किसान पार्टी एक/एक स्थानमा तथा ५ जना स्वतन्त्र निर्वाचित भएका  छन् ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?