काठमाडाैं, पुस १०
नेपाली काँग्रेस बाहेकका दलहरूबीच सहमति हुँदा नेकपा (माओबादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्ने निश्चित भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा भएको एमाले, माओबादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगायतका पार्टीबीच प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुटेको हो ।
सत्तारूढ गठबन्धन दलहरूबीच ७ दिनदेखि चलेको सरकार गठनको रस्साकस्सी असफल भएको छ । काँग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुबै पदमा अडान राखेपछि सत्ता गठबन्धन भत्किएको छ र नयाँ समीकरण बनेको छ ।
स्रोतका अनुसार माओबादी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवासामु आफूलाई प्रधानमन्त्रीमा स्वीकार नगर्ने भए राष्ट्रपति वा प्रधानमन्त्रीमध्ये एउटा पद माधव नेपालको पार्टीलाई दिनुपर्ने प्रस्ताव गरेका थिए तर देउवा सो प्रस्तावमा सहमत भएनन् ।
स्रोतको दावी अनुसार देउवालाई काँग्रेसका शीर्ष केही नेता र धेरै सांसदहरूले दुबै पदमा अडान नछाड्न दवाव दिएका थिए । तर ज्ञानेन्द्र बहादुर कार्की र पूर्ण बहादुर खड्का लगायतले भने राष्ट्रपति लिएर प्रधानमन्त्री छोड्न सुझाएका थिए ।
तर अन्तिम समयमा देउवा दुबै पद नछोड्ने अडानमा देखिएपछि बालुवाटार बैठकबाट निक्केर प्रचण्ड बालकोट पुगेका थिए जहाँ ६ दलको बैकठ बसेको थियो ।
प्रतिनिधिसभामा एमालेसँग ७८ सांसद छ । माओवादीको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२, जनमत पार्टी ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद जोड्दा १६६ सांसद हुन्छ ।
सरकार गठनका लागि १३८ सिट भए पुग्छ । बालकोट स्रोतका अनुसार प्रचण्ड साढे २ बर्ष प्रधानमन्त्री हुनेछन् र त्यसपछि एमाले अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् ।
यो समीकरणसँगै साना दलहरूलाई भने फाइदा पुगेको छ ।