रामकृष्ण शर्मा
काठमाडौं, पुस १०
पोखरामा जारी लिटरेचर फेस्टिबलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्दै थिए, “म जम्मा ४ घण्टा सुत्छु, जति मिनेट निदाउन चाह्यो, उति मिनेट निदाउन सक्छु ।”
दुई पटक मृगौला प्रत्यारोपण गरेका ओली शरीरमा अस्वस्थता भएको छनक भने दिँदैनन् । विहान टेबलटेनिस, दिनभर दौडधुप, लामो भाषण गर्दा समेत उनको विरामी शरीरमा थकान चाँहि देखिदैँन ।
हालै सम्पन्न चुनावअघि १५० सिट आउने घोषणा गरेका ओली पार्टीको अपेक्षित मत नआएपनि हड्बडाएको सुनिएनन्, अनुहारमा पीर चिन्ताको छनक पनि देखाएनन् ।
यो सबै भन्नुको अर्थ उनको शरीरमा स्फुर्ति ज्यादा छ, तन्दुरुस्ती अनुसरणीय छ, उनको उच्च मनोबल र गतिशिलता अरूका लागि प्रेरणामूलक पनि छ ।
चुनावी नतिजापछि सरकार गठनको लागि गुपचुप गतिविधि र छलफल चलाइरहेपनि देखिने गरी उनले सरकार निर्माणको अग्रसरता देखाएका थिएनन् तर जब सत्ता गठबन्धनमा समस्या आउन थाल्यो, उनले बालकोटमै बसेर सत्ता समीकरणको नयाँ गोटी चाले ।
हुन त चुनावी नतिजासँगै माओबादीका तिब्र आलोचक ओलीले प्रचण्ड र माओबादीको आलोचना गर्न छोडेका थिए । पछिल्ला केही अन्तर्वार्ताहरुमा पनि प्रचण्डप्रति नरम देखिएका ओलीले उनलाई प्रधानमन्त्री अफर गरेको हल्ला चलिसकेको थियो ।
उता सत्ता गठबन्धनभित्रको मूख्य घटक नेपाली काँग्रेसले प्रचण्ड बालकोट जान सक्ने अड्कल काट्दै थम्थम्याउने प्रयास पनि नगरेको होइन ।
तर राष्ट्रपति र प्रधानमन्त्री दुबै पदमा दावी नछोडेपछि प्रचण्ड बालकोट हान्निए र अन्तिममा ७ वटा दलको समर्थनमा प्रधानमन्त्री बने ।
यो सबै काममा केपी ओलीको हात माथी परेको छ र आगामी सरकार प्रचण्डको नेतृत्वमा बनेपनि ओलीको प्रभाव धेरै पर्नेछ । संवैधानिक पदहरुमा नियुक्तिदेखि सरकारका नीति र कार्यक्रममा ओली र एमालेको प्रभाव बढी पर्नेछ ।
अब शीर्षकतिर फर्कौै ।
विरामी शरीर भएपनि शारीरिक स्फूर्ति र मनोबल उच्च राख्ने गरेका केपी ओलीले नयाँ समीकरण बनाउने बैठकको दौरान धेरै छिटो लुगा परिवर्तन गरेका छन् ।
निजी निवास बालकोटमा बैठक सुरु हुँदै गर्दा र बैठकको दौरान अनौपचारिक कपडामा देखिएका केपी ओलीले थोरै मिनेटको अन्तरमा लुगा परिवर्तन गरी औपचारिक लुगा लगाएको देखिएको छ ।
सुरुमा कोट र भित्र हाइनेक-स्वीटर र पेन्ट लगाएका ओलीले केही समयको अन्तरालमा दौरासुरुवाल, कोट र भित्र फरक स्वीटर लगाएका छन् । उनको सदावहार गलबन्दी पनि विर्सेका छैनन् ।
संयोग कस्तो भने माओबादी अध्यक्ष प्रचण्डले लगाएको रातो स्वीटरसँग मिल्दोजुल्दो स्वीटर लगाएर केपी ओलीले सहकार्यको नयाँ सन्देश दिएका छन् ।
ओलीले शरीरमा लगाएको लुगा बदले जस्तै प्रचण्डले राजनैतिक (काँग्रेससँगको गठबन्धन) लुगा पनि बदलेका छन् । केही घण्टाकै बीचमा यो जाडोको समयमा ‘एउटा सिरक लत्याएर नयाँ सिरक’ ओढेका छन् ।
लगाएको लुगा र राजनैतिक लुगा बदलेर सहकार्य गर्न तम्सिएका प्रचण्ड र ओलीको गठजोड देशका लागि कति उपलब्धीमुलक हुन्छ ? त्यो भने हेर्न बाँकी छ ।
बैठक कक्ष र बार्दलीबाट तल संचारकर्मी र उपस्थितहरुलाई अभिवादन गर्दाका फोटो तुलना गरेर हेर्नुहोस् :
यसअघि पशुपति सम्शेर जबराले राष्ट्रपतिबाट सपथ लिने कार्यक्रममा पनि ओली र प्रचण्डको ड्रेस कोड लगभग उस्तै थियो ।
फोटो स्रोतः प्रचण्डको सचिवालय र सामाजिक सञ्जाल।