अन्ततः प्रचण्ड प्रधानमन्त्री

साझाकथा संवाददाता

काठमाडाैं, पुस १०

राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम प्रतिनिधि सभाका सदस्य दाहाललाई प्रधानमन्त्रीमा नियुक्त गरेको राष्ट्रपति कार्यालयद्वारा साँझ जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

दाहालले राष्ट्रपति भण्डारीसमक्ष प्रधानमन्त्रीका लागि प्रतिनिधि सभाका कूल एक सय ६९ जना सदस्यको समर्थन सहितको दाबी पेश गरेका थिए ।

भण्डारीले यही पुस ३ गते सात दिनको समयसीमा दिई प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रतिनिधि सभा सदस्यलाई प्रधानमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेकी थिइन् ।

दाहाल तेस्रो पटक प्रधानमन्त्री भएका हुन् । तोकिएको समयसीमा अगावै नेकपा (एमाले), माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदको समर्थन पेश गरिएको थियो ।

तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेपालका ४४औं प्रधानमन्त्री हुन् । सपथ ग्रहण भने सोमबार हुने भएको छ ।

सत्ता समीकरणका लागि एमालेका ७८, माओवादीका ३२, रास्वपाका २०, राप्रपाका १४, जसपाका १२, जनमतका ६, जनमुक्तिका ४ सांसदले प्रचण्डलाई प्रधानमन्त्रीका लागि समर्थन गरेका हुन् ।

यस्तै, स्वतन्त्र सांसदहरू प्रभु साह, किरण साह, अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले पनि प्रचण्डलाई समर्थन गरेका छन् ।

तस्बिर : खबर हब

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?