राजनीतिको पासा पल्टिएपछि…

हेमनाथ खतिवडा । साझाकथा

काठमाडौं, पुस ११

यतिबेला नेपाली राजनीतिको नयाँ कोर्षले सबैको ध्यान खिचेको छ । सत्ता समीकरणमा के मात्र हुन सक्दैन भन्ने उदाहरण पुष्टि भएको हो ।

यही राजनीतिक ‘कायापलट’ले नेपाली राजनीतिदेखि बुद्धिजीवी हुँदै नागरिकसम्म सत्ता समीकरणको नयाँ गणित बहसको विषय बनेको हो ।

चर्चामा नयाँ सरकार गठनदेखि अबको सम्भावित परिदृष्य केन्द्रित छ । सत्ता गठबन्धन टुट्ने बित्तिकै कांग्रेस नेता रामचन्द्र पौडेलले बोलेको कुराले पनि सामाजिक सञ्जाल ततायो । उनले भनेका छन्, ‘प्रचण्डलाई धोका भयो ।’

पौडेलले पार्टीका सभापति शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धोका दिएको टिप्पणी गरे । यो विषयले सामाजिक सञ्जाल मात्र होइन, धेरै सञ्चार माध्यमले धेरै महŒव दिए ।

राजनीतिज्ञ डा. प्रकाशचन्द्र लोहनी ट्विट गर्छन्, ‘नेपालमा प्रचण्ड र ओली दुवैले सानोतिनो फुच्चे छलाङ लगाउनु रोमाञ्चकारी अनुभव हो । अब देश कहाँ पुग्ने हो अनुमान लगाउन गाह्रो छ । मूलत आर्थिक पाटो समाधानको बाटोमा लग्न नसक्ने हो भने हामी सबै एउटै खाल्टोमा पर्ने छम ।’

त्यसो त ट्वीटरमा मनोरञ्जनात्मक र व्यंग्यात्मक टिप्पणी पनि कम छैनन् । सानाले ट्विट गरेकी छन्, ‘सिक्वेन्स मिलाउन नसक्दा २०७९ को माल ढुस भयो । देउवाले प्रचण्ड नामको अल्टर फ्याले । ओलीले टिपेर शो गरे । खेल सत्तम ।’

मुकेश काफ्ले नेपाली राजनीतिको विडम्बना सबैभन्दा ठूलो दल नै प्रतिपक्षमा भनेका छन् । ‘पहिले एमाले, अहिले कांग्रेस । संसदीय व्यवस्थामा यो शोभनीय विषय होइन । निर्वाचन प्रणाली वा शासकीस स्वरूपमै व्यापक समीक्षा र पुनरावलोकन आवश्यक देखिन्छ ।’, उनको ट्विटमा छ ।

अप्सरा नेपालको बुझाइ फरक छ । उनी ट्विट गर्छिन्, ‘रवि लामिछाने हिजो सबै बाहरूलाई विस्थापित गर्नु पर्छ भन्थे । आज के गर्दैछन् ? हिजो प्रचण्डलाई हराउन चितवन गएका थिए । आज के गर्दैछन् ?’ केही गर्छु भन्नेहरू अनायस मोडिएपछि नागरिकको बुझाइ के हुँदोरहेछ ? रवि र रविहरूले बुझ्नु पर्छ कि ?

संविधानविद् दमननाथ ढुंगानाले नेतृत्व र नीतिबारे बहस गरेका छन् । ट्विटमा छ, ‘संसदीय प्रणालीमा आस्थागत प्रतिबद्धता भएको नेपाली कांग्रेस संख्याको खेलमा कहाँ चुक्यो ? सत्ताको लोभमा सिद्धान्तसँग अमिल्दो काम गर्दा नेतृत्व र नीतिबारे तुरुन्त सिंहावलोकन जरुरी देखियो ।’

डा. लुना भट्ट शर्माले पनि राष्ट्रिय स्वतन्त्र पार्टीलाई पटाक्षेप गरेकी छन् । लेख्छिन्, ‘रास्वपाको असली रूप सुरुमै देखियो ! माओवादीकै नेतृत्वमा गयो !’

यसैगरी प्रा.डा. जागेश्वर गौतमले लुँडो खेलसँग राजनीतिलाई तुलना गरेका छन् । ‘आज लुडो खेल उत्कर्षमा, कांग्रेसको सत्तारोहण टाकुरामा चढेको केही बेरमा फेदीमा, उडायो सपना सबै हुरीले… !’, उनी यसरी ट्विट गर्छन् ।

एमाले नेता विष्णु रिजाल लेख्छन्, ‘२०७८ असार २८ गते पाँचजना न्यायाधीशको परमादेशबाट सत्ताच्यूत बनाइएको हाम्रो पार्टी २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनको जनादेशबाट सत्तामा फर्किएको छ । राष्ट्रपतिका रूपमा देशको र सभामुखका रूपमा संसद्को नेतृत्व गर्नुका साथै संघीय र सातवटै प्रदेशमा नेतृत्व र प्रतिनिधित्व रहने छ ।’

सामाजिक सञ्जालमा तर्कसँगै दलका नेतालाई गालीका शब्द पनि छन् । दलहरूबीच खिचातानीले देश अस्थिर हुने र नेतृत्वमा जाने होडबाजी मात्र गरेको धेरैले टिप्पणी गरेका छन् ।

रोशन शिवाकोटीको अभिमत फरक छ । लेख्छन्, ‘प्रचण्ड प्रधानमन्त्री भएसँगै १० नेपाली कांग्रेसको नेतृत्व र मतादाता उल्लू साबित भए २० एमाले नेता केपी ओली पुनः नैतिकहीन साबित भए ३० राजेन्द्र लिङदेन र रवि लामिछानेलाई मत दिने र यिनलाई विकल्प देख्ने आममतदातालाई धोका भयो ।’

सूर्यराज आचार्य ट्विट गर्छन्, ‘भन्ने गरिन्छ, शेयर किनबेचबाट पैसो कमाउनु छ भने बजारमा बेच्ने लहर चलेको बेलामा किन्ने रणनीति अपनाउनु पर्दछ । केपी ओलीले त्यही गरे । प्रमको पदमा रस्साकस्सी चलेको राजनीतिक बजारमा आफैं प्रम हुने हैन, अरूलाई प्रम बनाउने रणनीति अपनाए । बाजी मारे ! यस्तो रणनीतिक कौशल विकासमा पनि देखियोस् !’

कतिले त सामाजिक सञ्जालमा अश्लील शब्दले पनि गाली गरेका छन् । अनुष्का अधिकारीको ट्विटमा ‘प्रचण्ड बालकोट, रवि लामिछाने बालकोट, माकुने चाहिँ कोटेश्वरको आकाशे पुलमा चढेर गीत गाउँदै होलान्, मै… लाई लिन प्रचण्डे आउँछ रे ।’

यादव देवकोटाको राजनीतिक बुझाइ यस्तो छ, ‘गएको तीन वर्षमा राजनीति कसैले जित्यो भने ओलीले जिते । झन्डै सडकछाप भएका ओलीले पहिले आफूलाई जोगाए । त्यसपछि एमाले । अस्ति चुनावमा एमालेको राजनीति जोगाए । अहिले राजनीति नै आफ्नो कमाण्डमा ल्याए । जति मन नपरे पनि यति त मान्नै प¥यो ।’

कृतिका थारुले देउवा जोडीको उछितो काढेकी छन् । ट्वीटरमा लेख्छिन्, ‘शेरबहादुर र डिफ्याक्टो आरजु म्याडम प्रधानमन्त्री हुनुभन्दा त प्रचण्ड प्रधानमन्त्री भएकै ठिक छ ।

कांग्रेस र शेरबहादुरको योभन्दा उपल्लो पतन के हुनसक्छ ? रामचन्द्र, प्रकाशमान, विमलेन्द्र, पूर्णबहादुर, डा. महतजस्ता अवसरवादीहरूको पतन पनि अति आवश्यक थियो । भयो । कम्ता खुसी लाग्या छैन ।’

त्यसैगरी ट्विटरमा नारायण अधिकारी अबको सम्भावित परिदृष्य यसरी लेख्छन्, ‘लौ, अब डा. गोविन्द केसी ओछ्यान लाएर बाटामा सुत्ने दिन आए !’

सामाजिक सञ्जालमा देखिने यस्ता अभिव्यक्तिमा जीवन र जगत् जोडिएको छ । जसले नेतृत्वमा रहनेहरूलाई नीतिनिर्माण गर्न पनि सुझाव मिल्ने देखिन्छ ।

धेरै देशमा विभिन्न विषयमा सामाजिक सञ्जालमा सरकार र नेतृत्वबारे टीकाटिप्पणी हुने गर्छन् । यसले नेतृत्वलाई सच्चिने अवसर दिन्छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?