साझाकथा संवाददाता
काठमाडाैं, पुस ११
नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तीन उपप्रधानमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) का अध्यक्ष दाहाल हिजाे नेपालको प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । मन्त्रिपरिषद्मा उपप्रधानमन्त्री एवं अर्थमन्त्रीको जिम्मेवारी विष्णु पौडेलले पाएका छन् भने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्रीको नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री एवं गृहमन्त्रीमा रवि लामिछाने रहेका छन् ।
अर्थमन्त्री पौडेलले यस अघि पनि अर्थमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष श्रेष्ठले यसअघि पनि परराष्ट्रमन्त्री र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उपप्रधान एवं गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्ष हुन्।
यस्तै, मन्त्रीहरू ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र अब्दुल खानपनि मन्त्रिपरिषद्मा सहभागी छ्न् । उनीहरूको जिम्मेवारी भने तोकिएको छैन । सोमबार शीतल निवासमा राष्ट्रपति भण्डारीले प्रधानमन्त्री दाहाल र ३ जना उपप्रधानमन्त्री र ४ जना मन्त्रीलाई शपथ ग्रहण गराएकी हुन् ।
नवगठित मन्त्रिपरिषद्को पहिलो बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज साँझ बस्ने भएको छ ।