३३० वर्ष पुरानो सामरी पौवाले नयाँ स्वरूप पाउने

तस्वीर : रामहरि न्याैपाने

साझाकथा संवाददाता

नुवाकाेट, पुस १२

यात्रुहरुको लागि विश्राम तथा बास बस्ने प्रयोजनार्थ निर्माण गरिएका पाटी, पौवा तथा धर्मशालाहरु बढ्दो शहरीकरण र सडकको विकाससँगै  लाेप हुँदै गएकाे अवस्थामा नुवाकाेटकाे ‘सामरी पौवा’को पुनःनिर्माण गरिएकाे छ ।

३३० वर्ष पुरानो पौवा २०७२ सालको विनासकारी भूकम्पले क्षति पु¥याएको नुवाकोटको म्यागङ गाउँपालिका–५ सामरी भञ्ज्याङमा रहेकाे ‘सामरी पौवा’को पुनःनिर्माण गरिएको हाे । एक करोड १५ लाख लगानीमा पुरातत्व विभागमार्फत उक्त पौवाको पुनःनिर्माण गरिएको विभागका उपमहानिर्देशक तथा प्रवक्ता रामबहादुर कुँवरले जानकारी दिए ।

स्थानीय बूढापाका तथा शिलालेख अनुसार विसं १७५० को दशकमा स्थानीय कालीदास खड्कामगरले बनाएको उक्त पौवामा नेपाल एकीकरणको क्रममा नुवाकोट आक्रमण गर्न आउँदा विसं १८०१ मा पृथ्वीनारायण शाहसहित उनका सैनिक फौज केही दिन उक्त स्थानमा बसेर युद्धको योजना बनाएको तथा खर्चको जोहो मिलाएकाले कारण ऐतिहासिक मानिएको हाे ।

धार्मिक प्रयोजन, बाटोमा हिँड्डुल गर्ने बटुवाहरूले थकाइ मार्ने, रातको समयमा बास बस्ने, भोज गर्ने, भजनकीर्तन गर्ने उद्देश्यले स्थापना गरिएका अधिकांश पाटी, पौवाहरु लोप भएका छन् भने कतिपय अझै पनि प्रयोगमा आएको पाइन्छ ।

गुठीको नाममा रहेको यस पौवा पुरातत्व विभाग (सरकारी पक्ष)बाट पुनःनिर्माण गर्ने की खड्का परिवारलाई नै सुम्पने लामो समयको अध्ययन, साक्षत्कार तथा प्राप्त इतिहासको आधारमा पुनःनिर्माणसहित पौवाको जिम्मेवारी लिइएको नुवाकोट दरबार हेरचाह तथा संरक्षण कार्यालयका प्रमुख अजुर्नप्रसाद फुयाँलले बताए ।

उहाँको अनुसार यसअघिको मौलिकपन कायम राखेर पहिलाजस्तो थियो सोही स्वरुपमा पुनःनिर्माण गरिएको हो । सोसँगै रहेको पाटीलगायतका संरचनाको पुनःनिर्माणको लागी लागत इष्टिमेट (खर्चको अनुमान) तयार भएकाले आवश्यक थप संरचनाको पुनःनिर्माण आगामी आर्थिक वर्षबाट सुरु गर्ने विभागको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?