गुरुङको सांसद पद निलम्बन

साझाकथा संवाददाता

काठमाडाैं, पुस १२

मनाङबाट निर्वाचित सांसद टेकबहादुर गुरुङलाई सङ्घीय संसद् सचिवालयले निलम्बन गरेको जनाएकाे छ ।

मङ्गलबार सचिवालयले सूचना जारी गर्दै गुरुङको सांसद पद निलम्बनमा परेको जनाएको हो । गुरुङलाई निलम्बनका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट पत्र आएको र सोही आधारमा यस्तो निर्णय लिइएको संसद् सचिवालयले जनाएको छ ।

भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतबाट दोषी ठहर भएका सांसद गुरुङले प्रतिनिधिसभा बैठकमा भाग लिन नपाउने भएका छन् ।

“प्रतिनिधिसभा सदस्य टेकबहादुर गुरुङउपरको मुद्दा विशेष अदालतमा विचाराधीन रहेको अवस्थामा उक्त मुद्दा अन्तिम किनारा नभएसम्म स्वतः निलम्बनमा रहने कानूनी व्यवस्था कार्यान्वयन गर्न गराउन सम्बन्धित निकायमा लेखी पठाउने” व्यहोराको अख्तियारको पत्र पुस ८ गते संसद् सचिवालयमा आइपुगेको थियो ।

गुरुङविरुद्ध अख्तियारले २०७५ माघ २१ गते भ्रष्टाचार मुद्दा दायर गरेकोमा अहिले त्यो विशेष अदालतमा विचाराधीन छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३६ मा भएको व्यवस्थाबमोजिम भ्रष्टाचार कसुरको आरोप लागेको व्यक्ति सार्वजनिक पद धारण गर्न नमिल्ने भन्दै गुरुङलाई निलम्बन गरिएको हो ।

उनले नेकपा एमालेका उम्मेदवार पोल्देनछोपाङ गुरुङलाई ३२८ मतान्तरले पराजित गरेका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?