फाइल तस्वीर
काठमाडाैं, पुस १३
हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ ।
हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर मंगलबार किसानलाई वितरण गरिएको हो ।
दक्षिण कोरियाबाट दुई पटक गरेर होलिस्टिन फ्रिजनका छ वटा बाच्छा र ५७ वटा कोरली गाई गरी ६३ वटा कोरली गाई र बहर नेपाल ल्याएर वितरण गरिएको हेफर इन्टरनेशनल नेपालका भेटरिनरी डा भोला श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार अझै होलिस्टिन फ्रिजनका २२ वटा कोरली गाई आउन बाँकी रहेको छ ।
हेफर कोरियाबाट प्राप्त गाई पुस ७ गते नै कोरिया सरकारको तर्फबाट नेपाल सरकारलाई हस्तान्तरण गरी नेपाल सरकारले सिन्धुलीका किसानलाई वितरण गरेको हो ।
उत्पादनको हिसाबले कोरियाका टप (परीक्षण भएका) दुई वटा बहर पनि केही दिनपछि आउने हेफरले जनाएको छ ।
डा श्रेष्ठले नेपाली स्थानीय गाईलाई विस्थापित गर्ने नभई नस्ल सुधार गरी संरक्षण गर्ने उद्देश्यले गाई ल्याइएको बताउनुभयो । दक्षिण कोरियाबाट ल्याएका शतप्रतिशत शुद्ध नस्लका गाई नस्ल सुधारका लागि ल्याएको उहाँको भनाइ थियो ।
उहाँले नेपालको स्थानीय गाईको संरक्षण गर्ने काम नेपाल कृषि अनुसन्धान परिषद् पशु सेवा विभागले गरिरहेको बताउनुभयो ।
नेपालमा रहेका ७३ लाख गाईमध्ये करिब २० प्रतिशत मात्रै गाई उन्नत जातका रहेको डा श्रेष्ठले बताउनुभयो । उहाँले नेपालमा दूध उत्पादन बढाउन आवश्यक रहेको भन्दै शुद्ध नस्ल भएका उत्पादन क्षमता बढी भएका गाई ल्याइएको बताउनुभयो ।
गाईलाई आवश्यक पर्ने शुद्ध नस्लको सिमेन (वीर्य) पनि कोरियाबाटै प्राप्त भएको छ । यी गाईको क्षमता प्रतिबेत आठदेखि १६ हजार लिटर दूध रहेको बताइएको छ ।
राससबाट