साझाकथा संवाददाता
काठमाडाैं, पुस १३
मंगलबारदेखि चीनले नेपाली वस्तु निर्यात गर्न रसुवागढी नाका खुलाएको छ । कोरोना महामारी सुरुवात भएपछि बन्द गरिएको रसुवागढी पहिलो पटक खुलेको हो ।
निर्यात मंगलबारदेखि पुन: सुरु भएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले बताए । रसुवागढी नाका ३१ महिनादेखि बन्द रहेको थियो ।
पहिलो पटक नेपालबाट ५० लाख ७० हजार रुपैयाँको वस्तु निर्यात भएको छ । बाँसको मुढा, तामाका भाँडालगायतका वस्तु नेपालले चीनमा निर्यात गरेको हो। तर सिन्धुपाल्चोकको तातोपानी नाका भने नेपाली वस्तु निर्यातका गर्न अझै बन्द रहेको छ ।
याे नाका चीनबाट नेपालमा व्यापार हुने सबैभन्दा पुरानो नाका हो । यहाँबाट तयारी कपडा, स्याउ, जुत्ताचप्पल, झोला, मोटरको ब्याट्री, प्लास्टिकका सामानलगायत आयात हुने गरेको छ ।
सरकारले सम्भाव्यता अध्ययनका लागि चीनलाई आग्रह गरेपनि कोरोना महामारीका कारण चिनियाँ प्राविधिक टोली नेपाल आउन सकेको थिएन । रेलमार्ग बेल्ट एण्ड रोड अवधारणामा निर्माण गर्ने गरी नेपालले चीनसँग प्रस्ताव गरेको विभिन्न नौ परियोजना मध्येको एक हो ।