- काठमाडौ, १३ पुस । कर्मचारी भएपछि निश्चित उमेरपछि अवश्य अवकाश पाइन्छ, भलै सेवा क्षेत्रअनुसार उमेरको हदबन्दी फरक फरक हुनसक्ला । तर केही कर्मचारीले कहिल्यै अवकाश पाउँदैनन् भन्दा तपाइँलाई विश्वास नलाग्न सक्छ । विश्वास नलागेर पनि के गर्नु १ नेपालमा यस्ता कर्मचारी पनि छन् जो कहिल्यै अवकाश हुँदैनन् ।
कुनै बेला जनताको सुखदुःख आदानप्रदान गर्ने नजिकको साथीका रुपमा थियो हुलाक । हुलाकका कर्मचारी सहरबजारदेखि दुर्गम गाउँका घरघरसम्म पुग्थे । कर्मचारीलाई भ्याइनभ्याइ थियो । त्यसैले अतिरिक्त हुलाकमा स्थानीय कर्मचारी नियुक्त गर्नु बाध्यता जस्तै थियो । अहिले समय फेरिएको छ तर यस्ता कर्मचारी व्यवस्थापनको नीति भने फेरिन सकेको छैन । यी कर्मचारी निजामती होइनन् र स्थायी पनि हुँदैनन् । तर कहिल्यै अवकाश नहुने भएकाले व्यवस्थापन चाहिँ बोझिलो बन्दै गएको छ ।
जीवनकालमा कहिल्यै अवकाश नपाउने कर्मचारी हुन् हुलाक सेवा विभागअन्तर्गतको अतिरिक्त हुलाकका कर्मचारीहरु । अतिरिक्त हुलाक नियमावली २०३४ को व्यवस्थानुसार नियुक्ति पाउने यस्ता कर्मचारी एकपटक नियुक्त भइसकेपछि कहिल्यै अवकाश हुँदैनन् । अवकाशका उपाय त छन्, स्वेच्छिक राजीनामा वा मृत्यु । त्योबाहेक सामान्यतया कारबाही गर्ने कुरा कानुनको दृष्टिमा समेत बदरभागी हुने भएकाले यो अपवाद मात्रै हो ।
हुलाक सेवाअन्तर्गत अहिले मुख्यतः निजामती र अतिरिक्त हुलाकमा कार्यरत जनशक्ति गरी दुई प्रकारका कर्मचारी छन् । अतिरिक्त हुलाक नियमावली २०३४ अनुसार हुलाक सेवा विभागले अतिरिक्त हुलाकको स्थापना गर्ने व्यवस्था छ । हाल यस्ता हुलाक देशका ७७ जिल्लाअन्तर्गत तीन हजार ७४ वटा छन् । सोही नियमावलीको दफा ७ ले हुलाक सेवा विभागले तोकिदिएको अधिकृत वा निर्देशकले यस्ता कर्मचारी नियुक्त गर्न पाउने व्यवस्था गरेको छ । हो, यिनै अतिरिक्त हुलाकमा नियुक्त हुने हुलाक प्रतिनिधि, वितरक र डाँक वाहकले नियुक्ति त पाउँछन् तर कहिल्यै अवकाश हुनु पर्दैन ।
हुलाक सेवा विभागका अनुसार नेपालमा हाल यस्ता कर्मचारीको सङ्ख्या १० हजारभन्दा बढी छ । विभागको प्रशासन शाखाप्रमुख ढालबहादुर जिसीले देशभर तीन हजार ७४ वटा अतिरिक्त हुलाकमा कार्यरत यस्ता कर्मचारीको सङ्ख्या १० हजार दुई सय ९२ रहेको जानकारी दिनुभयो । त्यसमध्ये हुलाक प्रतिनिधि दुई हजार नौ सय ८०, वितरक चार हजार चार सय ६४ र डाँक वाहकको सङ्ख्या दुई हजार आठ सय ४८ रहेको उहाँले बताउनुभयो ।
नियमावलीको दफा ९ मा हुलाक प्रतिनिधि नियुक्त गर्दा साबिक गाविस वा नगरपालिकाबाट लिखितरुपमा सिफारिस गरिएको, नेपाल सरकारको राजपत्राङ्कित अधिकृतबाट सिफारिस गरिएको, साबिक गाविस वा नगरपालिकाअन्तर्गत रहेको विद्यालयको शिक्षक र स्थायी कारोबार भएको स्थानीय दुकानदार हुनुपर्ने भनेर उल्लेख गरे पनि वितरक र डाँक वाहकको हकमा समेत त्यस्तै नियम लागू हुने गरेको छ । पछिल्लो एक वर्ष भने यस्ता कर्मचारीको नियुक्ति बन्द गरिएको विभागका निर्देशक लक्ष्मीदेवी होमागाइँले जानकारी दिए ।
अतिरिक्त हुलाकमा नियुक्त हुने कर्मचारीको मुख्य कार्य डाँक ढुवानी तथा वितरण गर्नु हो । नियमावलीको व्यवस्थाअनुसार यस्ता कर्मचारीले दिनमा कम्तीमा दुई घण्टा काम गर्नुपर्ने भएकाले यी पूर्णकालीन होइनन् । त्यसबापत हाल हुलाक प्रतिनिधिले मासिकरुपमा न्यूनतम् आठ हजार तीन सय १० र वितरक तथा डाँकवाहकले रु सात हजार दुई सय ७५ पाउने गरेका छन् । यसबाहेक कर्मचारीले नियमानुसार सेवासुविधा पाउँछन् । अतिरिक्त हुलाक नियमावली २०३४ ले वार्षिक छ दिन भैपरी आउने बिदा, वार्षिक १२ दिन बिरामी बिदा, वार्षिक २४ दिन घर बिदा, बढीमा दुई सन्ततिका लागि नियमानुसार प्रसूति बिदा र १५ दिन किरिया बिदा पाउने व्यवस्था गरेको छ ।
त्यसैगरी उपचार खर्चबापत काम गरेको प्रत्येक वर्षको लागि पदको सुरु पारिश्रमिक स्केलको आधा महिनाको तलब बराबर उपचार खर्च वा उपचार खर्च बापतको रकम लिन नपाउँदै सेवाबाट अवकाश भएमा नियमबमोजिम पाउने रकम एकमुष्ट लिन पाउने व्यवस्था पनि छ । कहिल्यै अवकाश नहुने कारण उनीहरुलाई खटनपटन गर्नसमेत सजिलो नभएकाले समयमा काम हुन नसकिरहेको हुलाकका अन्य कर्मचारीको भनाइ छ ।