कर्णालीमा कम उमेरमा गर्भवती २१ प्रतिशत

२०७९ पुष १४, बिहीबार

साझाकथा संवाददाता

कर्णाली, पुस १४

कर्णालीमा कम उमेरमा गर्भवती हुने सङ्ख्या वृद्धि हुँदै गएको छ । कर्णालीमा १५ देखि १९ वर्ष उमेर समूहका किशोरी कुनै न कुनै समयमा गर्भवती हुने गरेको पाइएको छ ।

यो तथ्याङ्कले कर्णालीमा बालविवाह बढी हुने गरेको देखाउछ । तर बालविवाह विरुद्ध कुनै पनि उजुरी नपर्ने जिल्ला प्रहरी कार्यालय जुम्लाका डीएसपी नरेन्द्र चन्द्रले बताउनु भएको छ ।

कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निमित्त निर्देशक दीपा भट्टराईले १५ देखि १९ वर्ष उमेर समूहका २१ प्रतिशत युवती कुनै न कुनै वेला गर्भवती भइरहेको बताउनु भयो ।

‘कम उमेरमा गर्भवति हुने किशोरीको सङ्ख्या सबैभन्दा बढी कर्णालीमा देखिएको छ,’ उहाँले भन्नुभयो, ‘यसबाट असुरक्षित गर्भपतनको सङ्ख्या बढी हुने गरेको छ ।’

नेपालमा सुरक्षित गर्भपतन गराउन १ हजार ५ सय स्वास्थ्य संस्था सूचीकृत रहेको र कर्णालीमा ७० वटा सूचीकृत संस्था रहेको भट्टराईले बताउनुभयो । ‘गत वर्ष ४ हजार ८ सय ६० जनाले सुरक्षित गर्भपतन गराएका थिए,’ उहाँले भन्नुभयो, ‘जनचेतनाको अभावले सुरक्षित गर्भपतन सेवाबाट महिला वञ्चित भइरहेका छन् ।’

प्रदेशमा सुरक्षित गर्भपतनबारे एउटा मात्रै तालिम भएको भट्टराईले बताउनु भयो । ‘कर्णालीमा २० वर्षभन्दा कम उमेरका २१ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन्,’ उहाँले भन्नुभयो, ‘प्रदेशमा ५७ प्रतिशत महिलाले असुरक्षित रूपमा गर्भपतन गराउने गरेका छन् ।’

नेपालमा प्रतिवर्ष १२ लाख महिला गर्भवती हुने गरेकोमा ५ लाख ३९ हजार अथवा ४५ प्रतिशत अनिच्छित गर्भवति हुने गरेका छन् । ‘त्यसमध्ये १ लाख २८ हजार अनिच्छित जन्म हुन्छ, ‘३ लाख ५१ हजार गर्भपतन हुने गरेको छ । बाँकी ६१ हजार आफैँ खेर जाने गर्छन् ।’

जनचेतनाको अभावले असुरक्षित गर्भपतनको दर बढेको छ । ‘नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको छ । गर्भपतनका कारण सात प्रतिशत मातृ मृत्युदर हुन्छ । २५ प्रतिशतलाई गर्भपतन सेवाबारे जानकारी नहुने गरेको स्वास्थ्य निर्देशनालयको तथ्याङ्कमा उल्लेख छ ।

नेपालमा १९ प्रतिशत जन्म अनिच्छित गर्भधारणबाट हुने गरेको र गर्भपतनका कारण सात प्रतिशत मातृ मृत्युदर छ । २५ प्रतिशतलाई गर्भपतन सेवाबारे जानकारी नभएकाे तथ्यांकले देखाएकाे छ ।

तपाईको प्रतिक्रिया

तपाईको विचार

0 प्रतिक्रिया

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया दिनुहोस्!

यो पढ्नु भयो ?