साझाकथा संवाददाता
वीरगञ्ज, पुस १४
वीरगञ्ज महानगरपालिका–२५ खलवाटोला सिर्सियामा सञ्चालित विद्यार्थीको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्जको गुरुकुल पन्ना मेमोरियल इङ्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक समेत दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।
विद्यालयमा कक्षा ८ मा अध्ययनरत १४ वर्षीय नीरजकुमार दुसादको अपहरण गरी हत्याको अभियोगमा सोही विद्यालयका प्रधानाध्यापक पर्साको धोवनी गाउँपालिका–१ घोडदौर पिपरा निवासी ३० वर्षीय दिलीपकुमार पटेल र उनका सहयोगी वीरगञ्ज–१७ अलौँ निवासी २४ वर्षीय कृष्ण भरेन भनिने श्यामप्रसाद पटेललाई समेत प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका पटेल र यादवलाई प्रहरीले पत्रकार सम्मेलन आयोजना गरी सार्वजनिक गरेको हाे । जिल्ला प्रहरी कार्यालयमा अभियुक्तद्वयलाई सर्वजनिक गर्दै प्रहरी उपरीक्षक कोमल शाहले मृतक नीरजका पिता श्रीराम हजार दुसादसँग रु ५० लाख फिरौती लिने उद्देश्यले मङ्सिर ५ गते बालकको अपहरण गरी पटेल र यादवले हत्या गरेको जानकारी दिए ।
अपहरणको १२ दिनपछि अर्थात् मङ्सिर १७ गते मोबाइलबाट नीरजका पितालाई फोन गरी यादवले रु ५० लाख फिरौती माग गरेपछि उक्त नम्बरलाई पच्छ्याउँदै जाँदा पहिले यादव र उनले दिएको जानकारीका आधारमा घटनाका मुख्य योजनाकार पटेल पक्राउ परेको बताए ।
पटेल र यादव पक्राउ परेपछि उनीहरूसँग सोधपुछ गर्दा पटेलले दिएको जानकारीका आधारमा पुस १० गते राति शौचालयको ट्याङ्कीबाट नीरजको शव बरामद गरेको उपरीक्षक शाहले जानकारी दिए ।
मृतकलाई प्रधानाध्यापक पटेलले पहिलेदेखि नै चिनेको र उनले बोलाउँदा सहजै भनेको स्थानमा आउने भएकाले उनको अपहरण गर्ने योजना बनाएको पटेलले बयानमा स्वीकार गरेको उपरीक्षक शाहले जानकारी दिए ।
उनले मङ्सिर ४ गते विद्यालय छुट्टी भएको दिनै नीरजलाई बोलाउँदा सो दिन नआएको र सोको भोलिपल्ट दिउँसो २ बजे आएपछि उनलाई बन्धक बनाई राख्न खोज्दा नीरज कराउन थाले पनि उनलाई शान्त पार्न घाँटी थिच्दा उनको मृत्यु भएको थियो ।
आफू बसेको घर अगाडि रहेको शौचालयको ट्याङ्कीमा शवलाई हालेकाे दिएको पटेलले जानकारी दिएपछि प्रहरीले पुस १० गते राति बालकको शव बरामद गर्न सफल भएको बताए ।
दुवै अभियुक्तमाथि शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दा चलाउने तयारी रहेको मृतकका परिवारले बताए ।