सत्ता साझेदार दलको बैठक
साझाकथा संवाददाता
काठमाडौं, पुस १४
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार मध्याह्न बसेको सत्ता साझेदार दलको बैठकले सरकारको न्यूनतम साझा कार्यक्रम तयार पार्ने निर्णय गरेको छ ।
पाँच दिनभित्र तयार पारिने कार्यक्रममा नागरिकको अपेक्षाअनुसारको काम गर्ने योजना ल्याउने बैठकले निर्णय गरेको हो । सोहीअनुसार दलहरूले आआफ्नो तर्फबाट प्रतिवद्धता व्यक्त गरेका हुन् ।
उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले दिएको जानकारी अनुसार बैठकले नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको संयोजत्कवमा एक कार्यदल गठन गरेको छ । कार्यदलले पाँच दिनभित्र सरकारको न्यूनतम नीति तथा कार्यक्रम तयार पार्ने उनले जानकारी दिए ।
ओली नेतृत्वको उक्त कार्यदलमा सत्ता साझेदार दलका तर्फबाट एक–एकजना सदस्य रहने सहमति भएको हो । बैठकमा जनताको अपेक्षा पूरा गर्न सरकार गठन भएकोमा एक मत भई सोही अनुसार देखिने गरी नयाँ कामको सुरुआत गर्नैपर्छ निचोढ निस्किएको राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले जानकारी दिए ।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले)का अध्यक्ष केपी ओली, उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत सहभागी थिए ।