एमाले बागमती प्रदेश संसदीय दलको नेतामा थपलिया सर्वसम्मत

हेटाैडा, पुस १४

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया सर्वसम्मत चयन भएका छन् । प्रदेशसभा सचिवालयमा रहेको एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज दिउसो भएको बैठकले दलको नेतामा थपलियालाई चयन गरेको हो ।

एमाले केन्द्रीय सदस्य एवम् चितवन क्षेत्र नम्बर १ को (१) बाट विजयी जगन्नाथ थपलीया दलको नेतामा चयन भएका छन् ।

एमाले संसदीय दलको कार्यालय हेटौंडामा भएको संसदीय दलको बैठकले थपलीयालाई सर्वसम्मत दलको नेतामा चयन गरेको हो । थपलीयाले यसअघि बागमती प्रदेश सरकरका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलका प्रमुख राजनीतिक सल्लाहकारको रुपमा भूमिका निर्वाह गरेका थिए भने हाल एमाले केन्द्रीय शिक्षा विभागका उपप्रमुख पनि हुन् ।

प्रदेशसभा भवनमा रहेको दलको कार्यालयमा बसेको बैठकले थपलियालाई दलको नेताका रूपमा चयन गरेको एमाले केन्द्रीय सल्लाहकार समिति सदस्य डोरमणि पौडेलले जानकारी दिए ।

बैठक अघि भएको सहमति प्रयासमा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पार्टी स्थायी कमिटी सदस्य काशिनाथ अधिकारी, पोलिटब्युरो सदस्य आनन्द पोख्रेल र केन्द्रीय सदस्य रामेश्वर रानाले थपलियालाई दलको नेता बनाउने बारे निर्णय सुनाएका थिए ।

थपलियाले चितवनको निर्वाचन क्षेत्र १ को (१) बाट कांग्रेसका किरण ओलीलाई साढे ८ हजार मतान्तरले प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । थपलिया चितवन १ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव लठ्न चाहन्थे । तर, पार्टीमा भिम रावल र घनश्याम भुषाललाई टिकट नदिएपछि १० भाईको समूह मिलाउन पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेलाई टिकट दिईएको थियो ।

पाण्डेले टिकट पाएपछि थपलिया प्रदेशसभा झरेका थिए । गठबन्धनमा एमालेले बागमती प्रदेश पाएको अवस्थामा दलको नेता चयन भएसँगै थपलियालाई मुख्यमन्त्री हुने बाटो खुलेको छ ।

यघपि, गठबन्धनमा प्रदेश भागबण्डा नलागिसकेकाले बागमतीमा नेतृत्व कसले गर्छ भन्ने टुंगो छैन । राप्रपा सरकारमा जाने भएपछि १३ सिट रहेको राप्रपाले बागमती प्रदेशमा पनि दाबी गर्ने चर्चा छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?