चिसो बढेसँगैं भेडाच्याङ्ग्राको गोठ सार्दै किसान

साझाकथा संवाददाता

काठमाडाैं , पुस १५

हिमाली क्षेत्रमा चिसाे बढेपछि निकै जीवन कष्ठकर हुन्छ । अझ पशुपालक किसान त झनै समस्यामा पर्छन् । दानापानी जुटाउन, भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी जाेगाउन निकै कठिन पर्छ ।

“चिसो बढ्दै गएको छ । जाडो बढ्दै गएपछि गाउँ रित्तिँदैछ । चिसोमा भेडाच्याङ्ग्राको पाठापाठी र चौरीको बाच्छाबाच्छी बचाउनै मुस्किल हुन्छ”, हिमाली जिल्ला मनाङको ङिस्याङ गाउँपालिका–१ पिसाङका ७९ वर्षीय पशुपालक किसान हर्कमान तामाङ भन्छन् ।

“पानी जम्दैछ । लेकमा बस्न सकिँदैन । लेकमा घाँस पनि सकिन थाल्यो । लेकबाट बेँसी झारेर बचाउन लागिरहेको छु”, उनी भन्छन्, “यी पशुको माया लाग्छ, छोडेर कहीँ जान सक्दिन । यिनैको मायाले यही पानी तताएर खुवाउँदै बसेको छु ।” भेडाच्याङ्ग्रा र चौँरीसहित गोठाला बेँसी झरिसकेका स्थानीय लावाङ शेर्पा बताउँछन् ।

रसुवाको आमाछोदिङमो गाउँपालिका गत्लाङका ६६ वर्षका ठूला तामाङ १२ वर्षकै उमेरदेखि भेडी गोठमै बित्यो । अहिले ९० वटा भेडा रहेको गोठबाटै उनी घरखर्च चलाउन भेडी गोठ लेक र बेशीमा सारेर चहार्नु उहाँको जीवनचर्या नै भएको सुनाउछन् । लेकका खर्कहरुमा भेडी गोठ सारेर चाहर्दैमा जीविका चलेको उनी भन्छन् ।

शेर्पा भन्छन् “पहिलेपहिले गाउँका धेरै मान्छेले भेडाच्याङ्ग्रा र चौँरी पाल्ने गर्थे । लेकतिर जाँदा पनि रमाइलो हुन्थ्यो । सबै एकैपटक जान्थ्यौँ । नजिक नजिक गोठ बनाएर बस्ने गथ्र्यौं । अहिले हरेक वर्ष गोठाला घट्दै गएका छन्”, उनी भन्छन्, “पुराना बूढापाका नसक्ने भए । युवा पर्यटन व्यवसायतर्फ लाग्न थालेपछि पशुपालन कम भएका छन् ।”

कृषक साङगे शेर्प भन्छन्, “पानी प¥यो भने अब माथि मात्रै होइन यहाँ पनि हिमपात हुन्छ । माथि चिसो भएपछि यहाँ झरेका हौँ । यहाँ पनि चिसो बढ्दैछ । अब बेँसीमै बस्ने हो । अब एक सातामा सबै तल झर्छन् । भेडाका पाठा कठ्याङ्ग्रिन थालेपछि तल झरेका छौँ ।” उनको गोठमा अहिले ६५ चौँरीलगायत भेडाच्याङ्ग्रा गरी ७० पशु रहेका छन् ।

नार्पाभूमि गाउँपालिकाका निवर्तमान अध्यक्ष मिङ्मार छिरिङ लामा भन्छन्, “वस्तुभाउको व्यवस्थापन गरेर गाउँबाट बेँसी झर्छन् यहाँका स्थानीयवासी । अबको एक सातामा पूरै गाउँ रित्तिन्छ ।” जाडोमा गहुँ, फापरका नल खुवाएर राखिने गरिएको उनी सुनाउँछन् ।

“चिसोमा पाठा हुर्काउन पनि कठिन हुन्छ , आहारा पनि पाइन्न आफुलाइ पनि न्यानो भेडा , च्याङग्रालाइ पनि न्यानो हुन्छ ।” जाडो छल्न मात्र होइन बारी मल्न पनि हुने ठोठ सारेको फाइदै फाईदा छ भेडा, च्याङग्रा गोठका पारखी सेदार तामाङ भन्छन् ।

मनाङका अधिकांश स्थानीयवासी पशुपालनमा आबद्ध छन् । त्यसले गर्दा उनीहरू वर्षमा दुई पटक लेकबेँसी गर्ने गर्छन् । बर्सातको समय लेक र हिउँदको समय बेसी झर्ने उनीहरूको परम्परा जस्तै हो । उहाँले अब चैत पहिलो साता मात्रै लेक चढ्ने गरेकाे किसान दावा लामा सुनाउछन् ।

नार्पाभूमिका किसान दिल तामाङ भन्छन् “हामीले हिमलुङ हिमालको फेदी, आइसलेक, नाम्के लेकको फेदीसम्म चौँरी, भेडाच्याङ्ग्रा चराउन लैजाने गरेका छौँ । अहिले त त्यो क्षेत्रमा हिउँ परेको छ, त्यहाँ बस्न सकिन्न, भेडाच्याङ्ग्रा राख्न पनि सकिन्न”, उनी भन्छन् , “अब चैत महिनासम्म यहीँ हुन्छौँ, सुकेका घाँस खुवाएर राख्छौँ ।”

पुस र माघ दुई महिना भेडीगोठ गाउँ नजिकै राखिने र फागुन लागेपछि गाउँभन्दा माथिका खर्कमा लैजाने गरेकाे उनी सुनाउछन् ।  उनी थप्छन्  “लेकमा बस्न घाँस पनि सकिएको, पानी नपरे पनि गोठ नै पुरिने गरी तुसारो परेपछि पशुपालक बेँसी झरेका हुन् ।”

“अहिले छिट्टै चिसो बढ्यो । पहिले पुस लाग्दा बल्ल गाउँ झरिन्थ्यो, अहिले पुस लाग्न १०/१२ दिन छँदै सबै गोठाला बेंसी झरिसकेका छन् । चिसोले भेडाच्याङ्ग्रा, चौँरी बिरामी पर्न थाले । गोठाला पनि बिरामी हुन लागेपछि हामी सबै तल झरेका छौँ”, कृषक माया शेर्पा थप्छिन् ।

रसुवाकाे गत्लाङ गाउँबाट पहिले बाजेहरुले लाङटाङको फेदीदेखि राम्चे, डाडागाउँ, ठूलोगाउँको बेशीसम्म गोठ सार्ने गरेको गत्लाङकै अर्का युवा विकास लामा बताउछन् । “केही वर्ष अघि बाजेसँग नुन पिठो लिएर सानैमा भेडीगोठ सरेको थियाे ” उनी संझन्छन् ।

मनाङका पशुपालक किसानले अहिले पनि पुख्र्यौली पेसा अँगाल्दै आएका छन् । यहाँ उत्पादन हुने पशुचौपाय जिल्लामा नै खपत हुने गरेको किसान याङदुङ बताउँछन् । केही युवा पुस्ता यसै पेसामा आबद्ध रहेको उनी बताउँछन् ।

भेडापालनका लागि पर्याप्त चरन क्षेत्र भए पनि युवापुस्ता यो व्यवसायभन्दा पर्यटन व्यवसायतर्फ आकर्षित भएको उनको भनाइ छ ।

उनले अरु व्यवसायको तुलनामा पशुपालन निकै चुनौतीपूर्ण भएकाले अहिलेका युवा गोठमा नबस्ने र पशुचौपाया पाल्नतिर चासो नदिने बताए । देशैभर चिसो बढ्ने क्रममा छ । चिसो बढेसँगै हिमाली जिल्ला मनाङका किसान तथा स्थानीयवासीलाई जीवनयापनमा सकस हुने गर्दछ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?