फोटो फिचर
तस्वीर : प्रकाश गोपाली
गुरुङ जातिले मनाए तमु तमु ल्होछार । उनीहरू परम्पारगत पहिरनमा सजिएर कार्यक्रममा उपस्थित भएका थिए । गुरूङहरूको भेषभूषा आफ्नै किसिमका हुन्छन्। खास गरेर बाह्य प्रभावमा नपरिसकेका गुरुङहरू साधारण किसिमको खस्रो कपडाको लुगा लगाउँछन्। गुरुङ जातिका पुरुषहरू शरीरको माथिल्लो भागमा भोटो लगाई जाङमा कछाड र त्यसको भित्र लगौंटी बाँधेका हुन्छन्।
तन्नेरीहरूले कछाडको माथि कम्मरमा कम्मर पेटी र शिरमा टोपी लगाउँछन्। केहीले भोटो माथि कालो रङको कपडाको इष्टकोट लगाउँछन्। हिउँदमा उच्च डाँडाहरूमा धेरै जाडो हुने हुँदा बाक्लो ऊनको बक्खु ओड्छन्।
व्यापार तथा अन्य कारणको लागि भ्रमण गर्दा पनि गुरुङ पुरुषहरू बक्खुलाई ओड्ने तथा ओछ्याउने काममा पनि प्रयोग गर्दछन्। बक्खु नलगाउँदा भोटोमाथि ऐँठे (भाङ्ग्रा) भनिने कपडाले बेरेका हुन्छन्।
सैनिक सेवामा भर्ती भएका पुरुषहरूले पैण्ट, कट्टु, कमिज, कोट, गन्जी, स्वेटर आदि लगाउने गर्दछन्। कुनै भूतपूर्व सैनिकहरू विभिन्न बेलामा आफुलाई गरिएको सम्मानका पदक, तक्मा आदि पनि लगाउने गर्दछन्।
गुरुङ महिलाहरू शरीरको माथिल्लो भागमा चोलो र तल्लो भागमा गुन्यू भनिने छोटो फरिया लगाउँछन्। फरिया पटुकाले टम्म कस्सिएको हुन्छ र पछिल्तिर कम्मर मुनि मखमल (कालो) को तीन कुने कपडा लगाउने गर्छन्, यसलाई ताम्लो (टीकी) भनिन्छ र माथि घरबुनाको घलेक (स्यामा) लाउने गर्छन्। यो अलि प्रौढ महिलाहरूमा मात्र सीमित हुन गएको छ।
युवतीहरू बढी मात्रमा रङ्गीन कपडाहरू प्रयोग गर्दछन्। विदेशी सैनिक सेवामा लागेका मानिसका परिवारका महिलाहरूले मखमलको चोलो, नाइलन सारी, छापिएको रङ्गीन लुंगी आदि प्रयोग गर्दछन्।
गुरूङ समुदायले आफ्नो संस्कृति झल्कने खालका झाँकी सहितको नृत्य प्रस्तुत गरेका थिए । सांस्कृतिक झाँकीलाई जीवन बाँच्ने राष्ट्रिय पहिचानको मौलिक परम्पराको रूपमा जाेगाउनुपर्ने कार्यक्रमका प्रमुख अतिथी प्रधानमन्त्री पुष्पकमल दाहालले बताए ।
गुरुङ युवतीहरू नाकमा झुम्केबुलाकी, बाला, शिरफुल, ढुङ्ग्री, लेस, पोते आदि लगाउँछन्। धेरै जसो सम्पन्न परिवारका महिलाहरू नाडीमा सुनको बाला र चुरी विभिन्न रङका काँचका चुराहरू, गलामा सुनको हार इत्यादि र कानमा माडवाली (बाघमुखे बुट्टा काटिएको मुन्द्री) पनि लगाउँछन्। विधवा स्त्रीले काँचको चुरी पोते लगाउँदैनन्।