काठमाडां, पुस १५
महिला प्रजनन् प्रणालीमा प्रत्येक महिना भइरहने परिवर्तन प्रक्रियालाई महिनावारी भनिन्छ ।
प्रजनन् प्रणाली र मुख्य रूपमा यो प्रणालीका डिम्बाशय र पाठेघरमा हुने परिवर्तन बाहिरबाट देखिन्न । तर महिनावारीमा योनीबाट रगत बगेर यो परिवर्तनको संकेत गर्दछ ।
प्रजनन् प्रणालीको डिम्बाशय नामक अंगमा अनगिन्ती डिम्बहरू अपरिपक्व रूपमा रहेका हुन्छ । जब केटीहरूको उमेर ११ वर्षभन्दा बढी हुन्छ, तब उमेरको परिपक्वताका साथ डिम्बाशयमा अपरिपक्व रूपमा रहेका डिम्बहरू प्रत्येक महिना एक–एक गरेर परिपक्व हुन्छन् ।
परिपक्व डिम्ब डिम्बाशयबाट बाहिर निस्कन्छ । डिम्ब निस्कनुका साथ पाठेघरको भित्री तहमा परिवर्तन हुन थाल्छ ।
पाठेघरको भित्री तहमा परिवर्तनका साथ त्यहाँ कोषहरू बाक्लो गरी बढ्ने र रक्तकोषिकाहरू फैलिने क्रम बढ्छ ।
पाठेघरमा यो परिवर्तन गर्भधारण भएको खण्डमा भ्रुणलाई बस्न र बढ्नका लागि सहयोगी होस् भनेर प्राकृतिक रूपमा भएको हो ।
महिला र पुरुषको शारीरिक सम्बन्ध भयो र महिलाको परिपक्व डिम्बसँग पुरुषको शुक्रकिट भेट भएर गर्भधारण भयो भने भ्रुण पाठेघरमा गएर बस्न र बढ्न थाल्छ ।
सामान्यतः महिनावारी सुरु भएको १४ दिनपछि डिम्बाशयबाट डिम्ब बाहिर निस्कन्छ । हरेक दिन डिम्बाशयबाट डिम्ब निस्कँदैन ।
यो समयमा यदि डिम्ब र शुक्रकिटको भेट हुन सकेन भने केही दिनपछि पाठेघरको भित्री तहमा बाक्लो गरी बढेर बसेको कोषहरू मर्न थाल्छन् ।
फैलिएर बसेका रक्तकोषिकाहरू पनि फुट्न थाल्छन् । रक्तकोषिकाहरू फुटेर निस्केको रगत योनीबाट बाहिर बग्छ ।
यसरी बगेको रगतलाई महिनावारी भएको भनेर भनिन्छ । माथिका कुरा पढेपछि तपाईंले बुझ्नु नै भयो । महिनावारी एक प्राकृतिक र पवित्र कुरा हो ।
खासमा महिनावारी शरीरको स्वाभाविक क्रिया हो । अन्य दैनन्दिन अंगप्रत्यंगका क्रियाहरू जस्तै ।
यसलाई अपवित्र, अधार्मिक र अछुत मान्नु पर्ने केही कुरै छैन । सर्त यति हो, सरसफाई र स्वच्छतामा बढी ध्यान दिनु पर्छ ।
डा. मानसाग्निको पुस्तक ‘महिला स्वास्थ्यको हेरविचार’बाट