Ad Banner

चुनावमा आफूलाई हराउन पार्टीभित्रबाट लागे : खाण

साझाकथा संवाददाता

बुटवल, पुस १६

पूर्वगृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाणले चुनावमा आफूलाई हराउन पार्टीभित्र र बाहिरका शक्ति परिचालित भएको दाबी गरेका छन् । तर उनले कस्ताे शक्ति  परिचालित थिए भनेर स्पष्ट परेनन् ।

बिपी कोइराला अध्ययन प्रतिष्ठानको छैठौँ साधारणसभा, चौथो अधिवेशनको उदघाटन तथा ४६औँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा बुटवलमा आयाेजित कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

आफूलाई हराउन विभिन्न शक्ति लागे तर  यसबारे आफूले कुनै टिप्पणी नगर्ने खाणले बताए । ‘गत निर्वाचनमा मेरो निर्वाचन क्षेत्रमा पार्टीभित्र र बाहिरका राष्ट्रिय अन्तराष्ट्रिय शक्तिहरु मलाई हराउन सक्रिय भए, यसबारे कुनै टिप्पणी गर्नु छैन,’ उनले भने ।

वर्तमान सत्ता फेरबदलमा काँग्रेस कहाँनिर चुक्यो भन्ने कुराको समीक्षा हुने पनि बताए । ‘राजनीतिक पार्टीहरुका लागि सत्ता फेरबदल स्वाभाविक प्रक्रिया हो, यसलाई कांग्रेसले अन्यथा लिँदैन । तर कसरी काँग्रेस प्रतिकूल अवस्थामा पुग्यो भन्ने कुराको भने समीक्षा गर्नुपर्छ ,’ उनले भने ।

उनले कहिलेकाँही नेपालको राष्ट्रियता मजबुत गर्न, प्रजातन्त्र जोगाउन, काँग्रेसको प्रभावकारिताका लागि पार्टीभित्र एकता गरौभन्दा आफू आलोचित हुनुपरेको गुनासो गरे ।

 

यो पढ्नु भयो ?