कम्बोडियामा निराकारको मृत्यु : समयमा उद्धार नभएकाे परिवारको गुनासो

काडमाडाैं, पुस १६

कम्बोडियास्थित ग्रान्ड डायमन्ड सिटी होटल एन्ड क्यासिनोमा शुक्रबार भएको भीषण आगलागीमा मृत्यु भएका झापाको विर्तामोड नगरपालिका–१ का ४० वर्षीय निराकार पाण्डेको समयमा उद्धार नहुँदा मृत्यु भएकाे परिवारले गुनासो गरेका छन् ।

तीन महिनाअघि पर्यटक प्रवेशाज्ञामा थाइल्यान्ड जानुभएको उहाँ घुमफिरकै क्रममा कम्बोडियाको सीमावर्ती सहर पोइपेट पुगेका थिए ।  शुक्रबार राति उहाँ बसेको होटलमा भीषण आगलागी भएको थियो ।

मृतकका बुबा एवम् विर्तामोड–१ का वडाध्यक्ष अग्नि पाण्डेले होटलको १२औँ तलाको कोठामा बास बसेको बेला दुःखद घटना भएको खबरले  स्तब्ध बनाएकाे बताए । समयमा उद्धार नहुँदा छोराले मृत्युवरण गर्नुपरेको उनले गुनासो गरे ।

बिहीबार राति साढे ११ बजेतिर होटलमा आगलागी सुरु भएको र शुक्रबार बिहान साढे ४ बजेपछि छोरासँग सम्पर्क विच्छेद भएको उनले बताए । थाइल्यान्डको राजधानी बैंककस्थित नेपाली राजदूतावासले मृतकको शवको तस्वीर नेपालस्थित मृतकका आफन्तलाई पठाएर शवको सनाखत गरिसकेको छ ।

हाल कम्बोडियामै रहेको शवलाई नेपाल ल्याउनका लागि परराष्ट्र मन्त्रालय र बैंककस्थित नेपाली राजदूतावासमार्फत कूटनीतिक पहल भइरहेको मृतकका बुबाले बताए ।

पारिवारिक स्रोतका अनुसार गत कात्तिक २१ गते निराकार घुमफिरका लागि थाइल्यान्ड पुगेका थिए । उनी केही दिनमै नेपाल फर्किने तयारी थियो । यही पुस १५ गते बिहान आगलागी भइरहेको होटलको १२औँ तलाको आफू बस्ने कोठाको झ्यालबाट ज्यान बचाउन हामफाल्दा मृत्यु भएको थियो ।

आगलागी सुरु भइसकेपछि करिब चार घण्टाको अवधिमा उनले आफू आगलागीका कारण अप्ठेरोमा फसेको भन्दै काठमाडौँस्थित आमा र झापास्थित बुबालाई समेत भिडियो फोन गरेर बाँच्नका लागि १२औँ तलामाथिको झ्यालबाट हाम फाल्नुपर्ने अवस्थामा पुगेको जानकारी दिए ।  परिवारले उनलाई उद्धारको पर्खाइमा धैर्य गर्न बारम्बार सुझाव दिएको उनका भाइ निश्चल पाण्डेले बताए ।

“बास बसेको होटलमा आगलागी भयो, धुवाँ फैलिँदै गइरहेको छ भन्दै भिडियो कल गरेको थियो,” मृतकका बुबा अग्निले शुक्रबार रातिको अवस्थाबारे जानकारी दिँदै भन्नुभयो,

“राति करिब चार घण्टासम्म फोन र भिडियोमा सम्पर्क भइरहेको थियो, हामीले उद्धार गरेर बचाउन आउँछन्, धैर्य गर् छोरा भनेर ढाडस दिइरह्यौँ । तर साढे ४ बजेदेखि फोन सम्पर्क टुट्यो ।”

कम्बोडियामा रहेका नेपाली र बैंककस्थित राजदूतावासका अधिकारीहरुले आगलागीबाट बाँच्नका लागि होटलको १२ तलाबाट हामफाल्दा चोटपटक लागेर मृत्यु भएको जानकारी दिएको उहाँले बताउनुभयो ।

शोकाकुल बन्यो विर्तामोड

युवा व्यवसायी निराकारको कम्बोडियामा आफु बसेको होटलमा भएको आगलागी बाट ज्यान जोगाउन हामफल्दा मृत्यु भएको खबर फैलिएपछि विर्तामोड शोकाकुल बनेको छ ।

स्थानीयवासी मृतकको घरमा भेला भएका छन् । झापामा रहेका मृतकका बुबा अग्नि घटना सुनेलगत्तै काठमाडौँ जानुभएको छ । काठमाडौँमा मृतककी आमा र भाइहरु रहेका छन् ।

झापाको घरमा रहेका मृतकका साइला भाइ निश्चलले कम्बोडियाको पर्यटकीय क्षेत्रमा समेत विपत्का बेला उद्धारको भरपर्दो कुनै प्रबन्ध नभएकामा गहिरो खेद व्यक्त गरे । “चार घण्टाभन्दा बढी अवधिसम्म दाजु निराकारले उद्धार पर्खिएर बस्नुभयो, कुनै आश बाँकी नरहेपछि बाँच्नका लागि १२औँ तलाबाट हामफाल्नु परेकाे र बेलैमा उद्धार हुन सकेको भए दाजु बाँच्थे” उनले भने ।

एजेन्सीहरूकाे सहयाेगमा

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?