साझाकथा संवाददाता
बाँके, पुस १६
विद्यालयमा विद्यार्थीकाे दिवा खाजा ब्यवस्था त तर उनीहरू खाँदिनन्। विद्यालयमा दिवा खाजा भने पाक्छ। तर मिठो हुन्न अनि अहिले खाजा खान छोडेँ याे विद्यार्थीकाे राप्ती सोनारी स्थित सिद्धेश्वर माविमा कक्षा ६ मा अध्ययनरत छात्रा अनिता बिक (नाम परिवर्तन) काे भनाइ हाे ।
६ कक्षामा भर्ना भएयता खाजा नखाएकी उनले भने दिनहुँ खाजा खाएको भनेर विद्यालयले खर्च पेश गरिरहेको छ। विद्यालयले उनी सहित उनको कक्षामा रहेका ३३ जनाले दिनहुँ खाजा खाएको खर्च विवरण पेश गर्दै आएको छ।
विद्यालयमा बन्ने खाजा मिठो नहुने भन्दै उनले पनि खाजा खान छोडिन्। ‘चना जलेको हुन्छ, त्यहि जलेको चना खान दिनु हुन्छ,’ उनले भनिन् ‘मिठो नै हुन्न अनि खाजा खानै छोडेँ।’ विद्यालयमा दिवा खाजा पाक्छ , तर विद्यार्थीहरुले भने आफै किनेर चाउचाउ अनि बिस्कुट खान्छन्। ‘यहाँ पाक्ने खाजा मिठो हुन्न अनि घरबाटै पैसा ल्याएर आउँछौँ,’ सोही कक्षाकी छात्रा दिपीका ओलीले भनिन् ‘अनि यहिँ क्यान्टिनमा चाउचाउ बिस्कुट किनेर खान्छु।’
सरकारी नियमानुसार यो विद्यालयले प्रतिदिन प्रति विद्यार्थी १५ रुपैयाँको खाजा खुवाईरहेको दाबी गर्छ। तर सबै बिद्यार्थीहरुले नियमती खाजा भने खाँदैनन्।
विद्यालयले भने सबै विद्यार्थीले दिनहुँ खाजा खाईरहेको खर्च विवरण पेश गरिरहेको छ। बालविकास देखि कक्षा ६ सम्मका बिद्यार्थीहरुलाई विद्यालयमै खाजा खुवाउने नीति सरकारको छ।
‘हामीहरुले सबै विद्यार्थीहरुलाई नियमती खाजा खुवाउँदै आएका छौँ,’ विद्यालयका प्रधानाध्यापक जनक शर्माले भने ‘विद्यार्थीहरुले खाजा खाएकै आधारमा हामीहरुले खर्च विवरण पेश गरिरहेका छौँ, नखाएका विद्यार्थीहरुले खर्च जोड्ने कुरै भएन नि।’
हाजिरी रष्ट्रिरका आधारमा विद्यार्थीहरुले खाजा खाने गरेको र विद्यालय नआएका विद्यार्थीको भने त्यो दिनको खाजा खर्च नजोड्ने गरिएको विद्यालयका प्रधानाध्यापक शर्माले बताईरहेका थिए। उनले भने ‘विद्यार्थीले नआएको दिनको रकम बचत भएर बसेको छ, खर्च देखाउने कुरै हुँदैन नि।’
विद्यालयका प्रधानाध्यापकसंग खाजा खर्च बापतको मासिक खर्च विवरण माग गर्दा विद्यालयले उक्त विवरण दिन अस्वीकार गर्यो। विद्यालयका प्रधानाध्यापक शर्माले विद्यालयका लेखापाल जितेन्द्र केसीलाई उक्त विवरण उपलब्ध गराउन आग्रह गर्दा पनि लेखापाल केसी भने दिन अस्वीकार गर्दै कड्किए। उनले भने ‘म दिन्नँ, कसले के गर्छ ? जसलाई जे गर्न मन छ गरेहुन्छ।’
यो विद्यालयमा सञ्चालन भएको खाजा घर उनै केसी आफैले सञ्चालन गरेका छन्। उनकी श्रीमतीले खाजा घरमा खाजा बनाउँदै आएकी छिन्। विद्यालयले खाजाघर सञ्चालनका लागि ठेक्का आह्वान नगरेर सिधै केसीलाई जिम्मा दिएको थियो।