आचार्यको ‘कूटनीतिक डायरी’ सार्वजनिक

काठमाडाैं, पुस १७

चीनका लागि नेपाली पूर्वराजदूत राजेश्वर आचार्यको नेपाल–चीन सम्बन्धसहितका कूटनीतिक क्षेत्रका विविध विषयवस्तु समेटिएको ‘कूटनीतिक डायरी’ पुस्तक सार्वजनिक भएको छ ।

चीनमा रहँदा नेपाल–चीन सम्बन्ध विकसित गर्ने सम्बन्धमा भएका द्विपक्षीय भेटघाट, छलफल, सहयोग र सम्झौतासम्बन्धी देखेको, भोगको र अनुभवका विषय स्पष्टरूपमा कृतिमा समावेश भएकाे पुस्ततकाे पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले  लोकार्पण गरेका हुन् ।

पुस्तकमा कूटनीतिक यात्रा, चीनबारे अनुभव र बुझाइ, माओको उदय र प्रभाव, एक चीन नीति, कालापानीबारे चासो, पारवहन सन्धिको चासो, राजा वीरेन्द्रको चीन भ्रमण, चिनियाँ प्रधानन्त्री झु रुङ जीको नेपाल भ्रमण तथा आर्थिक कूटनीति र मगन्ते प्रवृत्तिलगायत शीर्षकमा विविध विषय समेटिएको छ ।

चीनबारे अनुभव र बुझाइ शीर्षकमा लेखक आचार्यले चिनियाँ नेतृत्वसहित सबैले कडाइका साथ समयको पालना गरेको, सबै काम र भेटघाट निर्धारित समयमै हुने गरेको तथा सार्वजनिक यातायात हवाई, रेल र बस निकै व्यवस्थित रहेको उल्लेख छ ।

चीनले अनुसन्धान र विकासमा धेरै ठूलो लगानी गरेको तथा उनीहरूको जोड विशेषत विद्यार्थीमा ज्ञान, सीप र व्यक्तित्व विकासमा रहेको उल्लेख छ ।

कूटनीतिक क्षेत्रका जानकार पूर्वसचिव चिरनशम्शेर थापाले राजनीतिक हिसाबले उथलपुथल भए पनि चीनले नेपालाई सधैँभर श्रद्धाभावले हेर्दै आएको बताए ।

पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले मुलुकको प्रतिनिधित्व गरेर जाने व्यक्तिले दल विशेषको नभई राष्ट्रहितलाई सर्वोपरी राखेर काम गर्न सक्नुपर्छ भन्ने सन्देश पुस्तक अध्ययनबाट थाहा पाइने बताए ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?