नयाँ वर्ष : पर्यटन क्षेत्रमा नयाँ उत्साह

हेमनाथ खतिवडा । साझाकथा

काठमाडाैं, पुस १७

नयाँ वर्ष (सन् २०२३) को आगमनसँगै देशको पर्यटन क्षेत्रमा निकै नयाँ उत्साह थपिएको छ । कोभिड–१९ महामारीले थलिएको पर्यटन क्षेत्र बिस्तारै लयको बाटोमा रहेको छ ।

पर्यटन पुनरुत्थानको दिशामा रहेको पर्यटन क्षेत्रमा नयाँ वर्षले उत्साह छाएको छ । त्यसो त, नयाँ वर्ष पर्यटन क्षेत्रका लागि उत्सवकै रुपमा लिइन्छ । यो अवसरमा आन्तरिक तथा विदेशी पर्यटकको चहलपहल बढ्ने भएकाले व्यवसायीमा पनि सकारात्मक आशा जगाउने गरेको छ ।

हिमाली क्षेत्र र गाउँ

रसुवाकाे लाङटाङ, गाेसाइकुण्ड र तामाङ सम्पदा मार्गका गाउँमा स्वदेशी तथा विदेशी चहलपहल र गतिविधि बढेको छ । नुवाकाेट, देवीघाट, दुप्चेश्वर, म्याग्दी, गुल्मी, पाल्पा, संखुवासभा, इलाम, घाेडेपानी, घान्द्रुक, लमजुङ, स्याङजा, तनहुँ, पुनहिल, अन्नपुर्ण, पन्चासे, नगरकाेट,बनेपा, धुलिखेल, बल्थली, कालिन्चाेक, पलाञ्चाेक भगवती, सगरमाथा, तिनजुरे मिल्के, मनसलु, अन्नपूर्ण बेसक्यम्पलगायत ठाउँमा आन्तरिक अहिले पर्यटकको चाप बढेकाे पर्यटक गाइड लीलानाथ न्याैपाने बताउछन् ।

 शहरी क्षेत्रमा चहलपहल बढि 

‘नयाँ वर्षको पूर्वसन्ध्यामा पर्यटनमा चहलपहल बढेको छ । आन्तरिक पर्यटकको चाप छ । ठमेल, पोखरा, सौराहा, लुम्बिनी, भेँडेटारलगायत क्षेत्रमा ‘न्यू इअर इभ’ कार्यक्रम आयोजना गरिएको छ ।

संघीय राजधानी काठमाडाैंलगायत शहरमा विदेशी तथा स्वदेशीकाे चाप बढेकाे छ । होटलको बुकिङ पनि उत्साहजनक रहेको छ  सन् २०२२ मा २५ लाख पर्यटक धान्ने होटलको क्षमता रहेको छ ।

चिनियाँ पर्यटक आउने वातावरण बनेको खण्डमा विदेशी पर्यटक बढ्ने व्यवसायीहरूकाे  विश्वास छ । सरकारी तथ्याङ्कमा देशभर एक हजार एक सय होटल छन् । हानको विवरणमा सबैखाले होटल गरी चार हजार छन् ।

ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष नीलहरि बास्तोलाले नयाँ वर्ष पर्यटनमा आशा जगाउने वर्ष हुने भएकाले महामारीपछिको पर्यटनलाई पुनरुत्थानको गतिमा हौसला प्रदान गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

‘नयाँ वर्षको वहारसँगै पर्यटन क्षेत्रमा यसले सकारात्मक उत्साह जगाएको छ’, उनले भने । सन् २०२३ नेपालसहित विश्व्यापी रुपमै घुमफिर वर्ष नै हुन्छ होला । पछिल्लो समय विदेशी पर्यटक आगमन दरलाई हेर्दा विदेशी पर्यटक निकै बढ्ने अनुमान गरिएको अध्यक्ष बास्तोलाले बताए ।

नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार सन् २०२२ को ११ महिनामा पाँच लाख ४६ हजार तीन सय ४२ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड–१९ महामारीका कारण घटेको विदेशी पर्यटकको सङ्ख्या सन् २०२२ मा भने बढ्दो क्रममा रहेको तथ्याङ्कले देखाउँछ । महामारीपूर्व सन् २०१९ मा ११ लाख ९७ हजार ९१ जना पर्यटक नेपाल आएका थिए ।

तर सन् २०२० मा कोरोना महामारीले विदेशी पर्यटकको सङ्ख्या ८१ प्रतिशतले कमी आइ दुई लाख ३० हजारमा खुम्चिएको थियो । त्यसैगरी २०२१ मा एक लाख ५० हजार नौ सय पर्यटक नेपाल आएका थिए । जुन सन् २०२० को तुलनामा ३४ दशमलव चार प्रतिशतले कमी हो ।

ठमेलमा सडक महोत्सव

नयाँ वर्ष २०२३ को अवसर पारेर काठमाण्डाैकाे प्रमुख पर्यटकीय नगरी ठमेलमा सडक महोत्सव हुने भएको छ । ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज बेलुकी ठमेलमा सडक महोत्सव हुन लागेको हो ।

परिषद्का अध्यक्ष भविश्वर शर्माले कोरोनाले थलिएको ठमेलको पर्यटन पुनरुत्थानका लागि नयाँ वर्षको अवसर पारेर सञ्चयकोष अगाडिको मुख्य सडकमा ठमेल सडक महोत्सव आयोजना गर्न लागेको जानकारी दिए ।

‘ठमेलमा जाऔँ, ठमेलमै बसौँ, ठमेलमै घुमौँ, ठमेलमै रमाऔँ’ भन्ने मूल नारासाथ सडक महोत्सव तथा बृहत् सांस्कृतिक कार्यक्रम आयोजना गर्न लागेका छौँ’, उनले भनेभयो । ठमेलमा आयोजना हुन लागेको सडक महोत्सवमा एक लाख व्यक्तिको सहभागिता रहने परिषद्ले जनाएको छ ।

पोखरा सडक महोत्सव

नयाँ वर्षकै अवसरमा पर्यटकीय नगरी पोखरामा सडक महोत्सव चलिरहेको छ । ‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका साथ यही पुस १३ देखि १७ गतेसम्म महोत्सव सुचारू हुनेछ । रेस्टुराँ एन्ड बार एसोसिएशन (रेवान) पोखराले पाँचदिने महोत्सवमा आयोजना गरेको हो ।

रेवान पोखराका अध्यक्ष अध्यक्ष नरेश भट्टराईले आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धनका लागि पोखराको लेकसाइडमा रहेकाे तीन किलोमिटर क्षेत्रमा महोत्सव आयोजना गरिएको जानकारी दिए ।

पोखराका होटलले दैनिक ४० हजार पर्यटकलाई सेवा दिन सक्छन् । नेपाल आउने कुल पर्यटकमध्ये ४० प्रतिशत पोखरा घुम्न जाने गरेका छन् । साथै महोत्सवका अवसरमा होटलहरूले कोठामा २० प्रतिशत छुट दिएका छन् ।

महोत्सव फिस्टेल गेटदेखि खहरे चोक हुँदै जरेवर लेकसाइडसम्म हुनेछ । महोत्सवमा सांस्कृतिक कार्यक्रम, मौलिक भेशभूषा, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गीत प्रतियोगिता, झाँकी प्रदर्शन, रात्रिकालीन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटररेसलगायतका कार्यक्रम गरिएको छ । सडक महोत्सवमा पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ ।

ग्रामीण क्षेत्रले पर्यटक तान्ने सकेन 

काेराेना महामारीले सुस्ताएकाे पर्यटन क्षात्रमा चहल पहल ल्याउन सके यस क्षाेत्रकाे  पुनरुत्थान हुने पर्यटन उद्यमीहरू बताउछन् । नयाँ वर्षको अवसर पारेर गाउँ तथा हिमाली क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक तान्ने खाले कार्यक्रम हुनुपर्ने बताउछन् ।

बिभिन्न स्थानमा मेला उत्सव , महाेत्सव भइरहेकाे समाचारहरू पढ्न पाएपनि यस्ता ठाउँमा पनि स्थानीय सरकार र पर्यटन उद्यमीहरू मिलेर कार्यक्रम गर्न सकिने दाेलखा सैलुङका सुरेन्द्र तामाङ बताउँछन् ।

स्थानीय सरकारले ग्रामीण पर्यटन विकासका लागि यस्ता उत्सव र मेला गरेर प्रचार गर्न सकिने रसुवाकाे बृद्धिमका पर्यटन व्यवसायी दावा तामाङ बताउछन् । उनी भन्छन् हाेम स्टे र गेस्टहाउसमा भरिभराउ विदेशी पर्यटक पुगेपछि स्थानीय खुशी भएका छन् ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?