क्या मिठाे सिगानाकाे सुन्तला : एउटै गाउँमा करोडकाे बिक्री

साझाकथा संवाददाता

बागलुङ,  पुस १७

बागलुङ नगरपालिका–८ स्थित सिगानामा यसवर्ष झण्डै  तीन करोड रूपियाँको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला त्यहाँका किसानलाई सुन्तला बिक्री गर्न निकै चटारो नै लागेकाे छ ।

सिगानामा पुसको दोस्रो हप्तासम्मको विवरण अनुसार ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको सिगानाका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे दुई करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाख रूपियाँको सुन्तला बिक्री हुन बाँकी छ ।

सिगाना सुन्तला निकै रसिलाे भएकाेले भएकाेले ग्राहकले मन पराएर खाेज्ने गरेका छन् । स्थानीय राजन खड्काले भने “  यहाँकाे रसिलाे सुन्तला धेरैले मन पराउछन् , यहाँकाे माैसमी कमाइ नै सुन्तला खेती हाे मनग्य हुन्छ ” उनले थपे ।

आठ रोपनी जग्गामा व्यावसायिक सुन्तलाखेती सुरू गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यो वर्ष  पाँच लाख रूपियाँमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताउँछन् ।  उनी गुनासाे गर्छन् यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने घट्न थालेको छ ।

“सिगानामा म जस्तै झण्डै ६०भन्दा बढी किसान रहेको अनुमान छ, तथ्याङ्क सङ्कलनमा अझै कमजोर छौँ, स्थानीय वडा कार्यालयलाई यसको कुनै जानकारी छैन, कुनै किसानले न्यूनतम रु २५ हजारदेखि अधिकतम पाँच लाख रूपियाँसम्म सुन्तलाको व्यापार गर्दछन् ”, किसान खड्का भन्छन् , “यस वर्ष सुन्तलाको दाना निकै राम्रो छ तर धेरै स्थानमा उत्पादन बढेपछि सुन्तला व्यापारीले कम मूल्यमा सुन्तला खरिद गरेको पाइयो ।

हाम्रो अनुमानमा सिगानामा यस वर्ष रु तीन करोड मूल्य बराबरको सुन्तला उत्पादन भएको छ । उनका अनुसार पोखराका व्यापारीले यहाँ किसानका सुन्तला बोटबाटै टिपेर लैजाने गरेका छन् । बगैँचा विस्तार र मलजल राम्रो गरेपछि यस वर्ष किसानले सुन्तला बिक्रीबाट राम्रो आम्दानी गरेका हुन् ।

यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान रामबहादुर खड्का भन्छन् केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ बजार र पोखराको बजारमा पठाएको छु ।  उनी भन्छन् “औँशे किराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरेपनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको छ ।”

गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै रु दुई करोड ५० लाख भित्र्याएको वडा कार्यालयको तथ्याङ्क छ । यस वर्ष पनि सुन्तला बिक्रीको तथ्याङ्क सङ्कलन गर्न थालिएको जानकारी गराउँदै वडाध्यक्ष राजु कार्की सुनाउछन् सुन्तला बिक्रीकै चरणमा रहेकाले तथ्याङ्क सङ्कलनमा ढिलाइ भयाे । उनेले बिक्री लक्ष्यअनुसार  तीन करोडको सुन्तला उत्पादन भएको छ ।

सुन्तला बारीमै हेरेर किन्नेहरू धेरै छन् । पोखराका व्यापारीले बोटमै ठेक्का लिने गरेका छन् । धेरैले बारीबाटै सुन्तला किनेर लैजाने गरेका छन् भने केही साना व्यापारीले डोकोमा सुन्तला खरिद गरेर बजार पु¥याउने गरेका छन् ।

नयाँ सुन्तला बगैँचा बढिरहेकाले यहाँका किसानले वार्षिक रु ५० लाखका दरले सुन्तला उत्पादन वृद्धि हुने लक्ष्य लिएका छन् । सिगानामा १२ हजारभन्दा बढी सुन्तलाको बोटले उत्पादन दिइरहेको छन् भने १० हजारभन्दा बढी बोट उत्पादनको तयारीमा छन् ।

यहाँका किसान सुन्तलाका बिरुवामा समेत आत्मनिर्भर भइसकेका र आधा दर्जनभन्दा बढी सुन्तलाका बिरुवा उत्पादन गर्ने नर्सरी स्थापना भइसकेको यहाँका किसान सुनाउछन् ।

सिगानामा पाँच वर्षअघिदेखि सुन्तलाखेती वृद्धिका लागि अन्य रुख फँडानी गर्ने अभियान वडा कार्यालयले चलाएको थियो । यहाँ अहिले सुन्तला प्रतिकिलो होलसेलमा  ५० देखि  ६० का रूपियाँका दरले बिक्री भइरहेको छ । बोटबाटै सुन्तला खरिद गर्ने व्यापारीले सुन्तलाको दाना हेरेर एकमुष्ट बगैँचाको मूल्यमै सम्झौता गरेर सुन्तला टिप्न थालेका छन् ।

स्थानीय निकायमार्फत विगत पाँच वर्षयता २८ हजार सुन्तलाका नयाँ बिरुवा रोपिएको छ । वितरण गरिएको बिरुवाले अबको दुई/तीन वर्षपछि उत्पादन दिन थाल्नेछन् । सिगाना सुन्तला खेतीका लागि उपयुक्त हावापानी भएका कारण सुन्तला रोपेको तीन/चार वर्षमै उत्पादन दिन थालेको सुन्तला कृषक तुलसी खड्का सुनाउँछन् ।

सिगानाको बेँसी, वडा कार्यालय क्षेत्र, बाँस्कोटलगायत स्थानमा अधिकांश जमिन सुन्तला खेतीले ढाकेको छ । सिगानामा उत्पादन भएका सुन्तला पोखरा, चितवन र बागलुङ बजारलगायत स्थानमा निर्यात हुने गरेको छ ।

सिगानासँगै बिहुँ, तित्याङ, भकुण्डे, लेखानी, सर्कुवा र दमेकलगायत ठाउँ सुन्तलाखेतीका लागि उर्वर मानिन्छन् । जिल्लामा करिब पाँच हजार हेक्टरभन्दा बढी जमिनमा सुन्तलाखेती हुँदै आएको कृषि ज्ञानकेन्द्रले जनाएको छ ।

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?