टोपीको सांस्कृतिक महत्व छ, सम्मान गर्न जानेनौं

कमलादेवी गौतम । साझाकथा

काठमाडाै, पुस १७

नेपालमा टोपी दिवस कहिलेदेखि मनाउन थालेको भन्ने त प्रष्ट छैन । तर चुच्चे भादगाउँले टोपीको आज दिवसमा प्रचार भइरहेको छ त्यो नेपालीले लगाउने टोपी भनेर चिनिन्छ ।

हामी दसौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइरहेका छौं । नेपालीले नै यो दिवस मनाउन सुरु गरेका हुन् । विश्वका बिभिन्न देशमा रहने नेपालीले दिवस मनाउँछन् । शुभकामना व्यक्त गर्छन् ।

टोपी दिवसबारे डा. गोबिन्द टन्डन भन्छन्, ‘टोपी हाम्रो नेपाली परिवेश र शिरको शोभा हो । यसको सामाजिक महत्व बुझाउन भने सकिएको छैन ।’

टण्डन भन्छन्, ‘टोपीको सांस्कृतिक महत्व छ, उच्च सम्मान गर्नुपर्छ तर यसको आर्थिक, सामाजिक महत्वबारे कतै पाठ्यक्रम बन्न सकेन । पढाउने काम पनि भएन र नयाँ पुस्तालाई सिकाउन ठाउँ छैन ।’

दिवस मात्र मानेर नहुने उनको तर्क छ । यसको उपादेयताको उजागार गर्नुपर्ने भन्दै उनी थप्छन्, ‘सामान्य शिक्षा र सूचना मूलक मात्र प्रचारले पुग्दैन ।’

त्रिभुवन विश्वविद्यालय मानविकी संकायको संस्कृति विभाग प्रमुख डा. सोम खतिवडा टोपीलाई संस्कृतिको परिचायक मान्छन् । उनी भन्छन्, ‘खानपिन, लुगाफाटो सबै हाम्रो संस्कृति हो । चुच्चे टोपी लगाउने नेपाली हुन् । यो हाम्रो प्राचीन परम्परा पनि हो ।’

नेपालमा टोपीको धेरैै चर्चा भने १५ वर्षदेखि भएको पाइन्छ । १० वर्षदेखि दिवसको रुपमा मनाइन्छ । टोपी बिभिन्न किसिमका हुन्छन् । जस्तो कि पाल्पाली ढाका टोपी, भादगाउँले टोपी, अझ हिमाली क्षेत्रमा शेर्पा टोपी र ऊनी टोपी सबैको बेग्लाबेग्लै महत्व छ ।

नेपालमा मात्रै नभइ विदेशका समेत रहेका धेरै नेपालीले परम्परागत ढाका र भादगाउँले टोपी लगाएर सामाजिक सञ्जालमा तस्वीर पोस्ट गर्ने चलनले यसले प्राथमिकता पाएको मान्न सकिन्छ ।

टोपी दिवस मनाइरहँदा एउटा प्रश्न पनि उठ्ने गर्छ, सामाजिक सञ्जालमा देखाउन वा परम्परा जोगाउन हो ? टोपी मात्र नभएर दौरा-सुरुवाल जस्ता पोशाक लगाउने चलन पनि पछिल्ला दिनमा बढ्दो क्रममा रहेको बताइन्छ ।

प्रत्येक देशको आआफ्नै पहिचानका बस्त्र हुने गरेकोमा नेपाली टोपी पनि नेपाली नागरिक, संसारभर फैलिएका नेपालीभाषी एवं नेपाली मूलका नागरिक सबैको नेपालीपनको अन्तर्राष्ट्रिय पहिचानका रुपमा स्थापित होस् भन्ने उद्देश्यका यस अभियानको थालनी भएको हो ।

संस्थापक अभियन्ता डा. लेखनाथ काफ्ले र शंकर बन्जाडेले सामाजिक सञ्जालबाट सुरु गरेको अभियानलाई संस्थागत र थप ब्यबस्थित बनाउन ‘नेपाली टोपी प्रतिष्ठान’ नामक संस्था पनि गठन भै सकेको छ ।

जंगबहादुर राणाकी बहिनी डम्बरकुमारीले दाजुलाई खुसी पार्न पहिलो पटक टोपी बनाएर उपहार दिएको संस्कृतिविद्हरूको भनाइ छ । नेपाल बाहिर रहेका नेपाली र नेपाली भाषीहरूले पनि नेपाली टोपी लगाउने गर्छन् ।

नेपाली टोपीको साइनो बंगलादेशको ढाका, कश्मीर, टर्की, कैलाश पर्वत र पाल्पासँग जोडिन्छ । विशेषतः भादगाउँले टोपी र ढाका टोपीलाई नेपाली टोपीका रुपमा लिने गरिन्छ ।

तर नेपालका विभिन्न समुदायले आआफ्नो पहिचान र परम्परा झल्किने खालका टोपी लगाउने गरेका छन् । नेपालीको शान, मान र पहिचान हो टोपी ।

सामाजिक संजालमा अर्को जिज्ञासा पनि छ, पुरुषले त टोपी लगाउलान्, महिलाले के लगाउने ? परम्परागत रूपमा टोपी पुरुषकै पोशाक हो। त्यसैले पहिलो वर्ष हामीलाई महिलाले यो दिवसलाई कसरी लिइदेलान् भन्ने लागेको थियो नै।

आआफ्नो संस्कृति झल्किने नेपाली टोपीमा सजिएको आज दिवसका दिन धेरैले फोटो पोस्ट गरेका छन् । टोपी दिवसका अवसमा नेपाली र गोर्खाली हुनुमा गर्व गरौं भन्ने सन्देश पनि हो यो ।

नेपालीपनलाई संरक्षण, प्रवद्र्धन र विस्तार गरौं । जस्ता शब्द लेखेर धेरैले टोपी लगाएर आफ्ना तस्वीर पोष्ट गरेका छन् । राष्ट्रिय पोशाक दौरा सुरुवालसँग टोपीलाई पनि जोडेर हेरिन्छ ।

टोपीको महत्वबारे नयाँ पुस्तालाई खासमा बुझाउन नसके पनि अहिले सामाजिक सञ्जालले दिवसको माहौल भने ल्याएको छ ।
अहिले युवक युवती, बालबालिका, वृद्ध पनि टोपी लगाएको तस्वीर खिचेर पोष्ट गर्छन् । यो फेसन पनि बनेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?