गृहमन्त्रीकाे ७७ वटै जिल्ला प्रशासनलाइ निर्देशन : प्रभावकारी तथा जनउत्तरदायी सेवा प्रवाह गराैं

काठमाडाैं, पुस १८

नेपाल सरकारका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ७७ वटै जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सवै सेवा प्रभावकारी तथा जनउत्तरदायी बनाउन प्रमुख जिल्ला अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

गृहमन्त्री भएपछि ७७ जिल्लाकै प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठकमार्फत मन्त्री लामिछानेले सेवाग्राहीलाई बिना झन्झट सेवा दिन निर्देशन दिएका हुन् ।

नेपाली नागरिकता, राहदानी र राष्ट्रिय परिचयपत्र जारी गर्ने विषयमा नागरिकहरूले दुःख पाइरहेका व्यापक जनगुनासो आएपछि मन्त्री लामिछानेले अनलाइन प्रणालीबाट नागरिकलाई छिटो छरितो र प्रभावकारी ढंगले काम गर्न निर्देशन आएको केही दिन अघिमात्र सुरूवा भएर आएका रसुवाका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले बताए । उनले भने ‘प्रविधि, सूचना र नागरिक मैत्री सेवाका लागि भर्चुअल बैठकमा नागरिकमैत्री सेवामा जाेड् दिइएकाे थियाे ।’

नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले भने ‘गृहमन्त्री ज्यूले नागरिकका गुनासाहरूलाई तत्काल सम्बोधन हुने गरी काम गर्न निर्देशन दिए । आम नागरिकको दैनिकीसँग जोडिएको मन्त्रालय भएकाले नागरिकता, राष्ट्रिय परिचयपत्र, राहदानीको विषयमा झन्झटरहित तरिकाबाट सेवा उपलब्ध गराउन समय तालिका बनाउन पनि निर्देशन भएकाे छ’, उनले भने, ‘शान्ति सुरक्षा चुस्त दुरुस्त कायम राख्न, बढ्दो जाडोबाट नागरिकलाई बचाउन आवश्यक प्रवन्ध मिलाउन पनि मन्त्रीकाे निर्देशन थियो ।’

प्रजिअ रिसालका अनुसार मन्त्री लामिछानेले सम्बोधनका क्रममा विपद व्यवस्थापन, राजश्व चुहावट नियन्त्रण, कार्यालयबाट हुने कामको ढिलासुस्ती अन्त्यका लागि खाका बनाए काम गर्न जोड् दिएका छन् ।

यसैगरी कानुनको छिर्का देखाएर नागरिकलाई सेवाबाट विमुख गर्नुभन्दा पनि जायज विषयमा विवेकको प्रयोग गर्न प्रजिअसमक्ष मन्त्री लामिछानेले आग्रह गरेका छन् ।

सोमबार गृहमन्त्रलयमा भएको भर्चुअल बैठकमा उनले प्रजिअमार्फत सबै जिल्लाको वस्तुगत अवस्थाबारे जानकारी जानकारी लिएका छन् । गृहमन्त्रीको पदभार ग्रहण गरेपछि मन्त्री लामिछानेले जिल्ला प्रशासन कार्यालयलाई गुनासोरहित तरिकाबाट काम गर्ने वातावरण बनाउने प्रतिवद्धता समेत जनाएका थिए ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?