साझाकथा संवाददाता
चितवन, पुस १८
नेपाल पत्रकार महासङ्घ चितवन शाखा सदस्यको १० लाख रूपियाँकाे दुर्घटना बीमा गर्ने भएको छ । कालिका नगरपालिकाले र महासङ्घबीच दुर्घटना बिमासम्बन्धी आज सम्झौता गरिएको हो ।
नगरपालिकाले पत्रकार सामूहिक दुर्घटना बिमा कार्यविधि २०७९ निर्माण गरी कार्यपालिका बैठकबाट अनुमोदन गरेपछि आज नगरप्रमुख विनोद रेग्मी र महासङ्घका अध्यक्ष नारायणप्रसाद अधिकारीले सम्झौतापत्रमा हस्ताक्षर गरे ।
आगामी दिनमा बीमा कार्यक्रमलाई निरन्तरता दिनेगरी कार्यबिधि बनाएर व्यवस्थित गरिएको महानगरप्रमुख रेग्मीले बताए । कार्यविधिमा बीमाका लागि नगरप्रमुखको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
समितिमा महासङ्घका अध्यक्षसमेत रहने कार्यविधिमा उल्लेख छ । आज सम्झौता भएसँगै प्रक्रिया अघि बढ्ने र केही दिनभित्रै महासङ्घका सदस्यको बीमा हुने बताइएकाे छ ।
महानगरप्रमुख रेग्मीले भने , “यसबाट पत्रकार र तीनका परिवार लाभान्वित हुनेछन् ।” कसैको पनि दुर्घटना नहोस् र लाभान्वित हुन नपरोस् भन्ने आफ्नो चाहना रहे पनि भैपरी आउने दुर्घटनापछि राहतका लागि बीमा गर्न लागिएको हो
कालिका नगरपालिकाले यसअघि गत आर्थिक वर्ष पनि पत्रकारका लागि सात लाख रूपियाँ र अघिल्लो वर्ष तीन लाख रूपियाँको दुर्घटना बीमा गराएको थियो ।
अबका वर्षमा कार्यविधि नै बनाएर १० लाख रूपियाँसम्मको दुर्घटना बीमा गर्न लागिएको हो । यो बीमाअन्तर्गत दुर्घटनाबाट मृत्यु भएकाको परिवारलाई रु १० लाख र घाइतेले उपचार खर्च पाउने गरी कम्पनी छनोट गरेर बिमा गरिने भएको छ ।
नगरपालिकाकी उपप्रमुख विमला तामाङले नगरपालिका र महासङ्घबीच संस्थागतरुपमा यो कार्यक्रमसँगै सहकार्य भएको बताए । महासङ्घका अध्यक्ष अधिकारीले हाल महासङ्घमा दुई सय ७६ पत्रकार रहेकामा अन्यत्र दुर्घटना बीमा भएकालाई घटाएर अन्य सबैको बीमा गरिने बताए ।