साझाकथा संवाददाता
काठमाडाै, पुस १९
इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनेरिङ फेडेरेसन (युआइएए) को साधारणसभामा सहभागी हुन क्यानडा पुगेकी नेपाल पर्वतारोहण संघकी बोर्ड सदस्य डोमा शेर्पा उत्तै भागेकी छिन्।
क्यानडाको बाँफमा गत २९ अक्टोबरमा भएको अल्पाइन क्लब अफ क्यानडाले गरेको सभामा सहभागी हुन संघका अध्यक्ष निमानुरु शेर्पाको टोलीसँगै उनी गत २८ अक्टोबरमा नेपालबाट क्यानडा उडेकी थिइन्। सभा सकिएलगत्तै टोलीमा सहभागी सबै नेपाल फर्किसकेका छन्, तर शेर्पा अझै फर्केकी छैनन्।
टोलीमा संघका महासचिव मोहन लम्साल, पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेल सहभागी थिए। सभामा सहभागी हुन गएकी उनी एकाएक बेपत्ता भएपछि टोलीका सदस्यले उनलाई पटक-पटक सम्पर्क गर्न खोजेका थिए तर सम्पर्कमा नआएपछि उनलाई छाडेर टोली नेपाल फर्किएको थियो।
संघका महासचिव लम्सालले शेर्पा सभामा भाग लिन गएको, तर सँगै नफर्किएको स्वीकार गरे। उनले भने, ‘शेर्पा सभामा भाग लिन जानुभएको हो। हामी फर्कियौँ, तर उनी फर्किनन् । उनले क्यानडा जान तीन महिनाअघि नै भिसा अप्लाई गरेकाे रहेछ । त्यही क्रममा हामीकहाँबाट पनि भिसा लाग्यो। यसलाई संयोग नै मान्नुपर्यो। तर उनलाई फर्काउन हामी कोसिस गरिरहेका छौँ।’
महिना दिनसम्म पनि नफर्केपछि संघले विभिन्न माध्यमबाट सम्पर्क गरी नेपाल फर्कन भनेको थियो। उनी विवाह गर्नुपर्ने बहाना देखाउँदै फर्कन मानिरहेकी छैनन्। शेर्पा केही महिनाअघि मात्रै संघमा बोर्ड सदस्यमा निर्वाचित भएकी थिइन्।