निसीखोला गाउँपालिका अध्यक्ष तीन वर्ष कैद फैसला

साझाकथा संवाददाता

बागलुङ, पुस १९

जिल्लाको निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीलाई लागुऔषध कारोबारमा जेल ताेकिएकाे छ । उनलाई सोमबार तीन वर्ष छ महिना कैद फैसाला भएको छ ।

निसीखोला गाउँपालिकाका अध्यक्ष घर्तीमाथि लागेको लागुऔषधसम्बन्धी कसुर ठहर गर्दै बागलुङ जिल्ला अदालतका न्यायाधीश डा दिवाकर भट्टको इजलासले तीन वर्ष छ महिना कैद सहित रु ५० हजार जरिवाना फैसाला गरेको जिल्ला अदालतका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।

निसीखोला—६ को वडाध्यक्ष हुँदा २०७७ असार १२ गते ८० किलो गाँजा जस्तो देखिने धुलो सहित पक्राउ परेका घर्ती दाेषी ठहरिएका हुन्।इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक प्रकाशसिंह भण्डारीको नेतृत्वमा खटिएको टोलीले घर्तीलाई तत्कालीन अवस्थामा घरबाटै पक्राउ गरेको थियो ।

बुर्तिवाङ बजारमा गाँजा खाने युवालाई समात्ने क्रममा ‘सप्लाई’ गर्ने व्यक्तिको खोजी गर्दै जाँदा प्रहरी घर्तीसम्म पुगेको थियो । तत्कालीन वडाध्यक्षघर्तीको घरबाट बरामद भएको गाँजा धुलो पारिएको अवस्थामा भेटिएको थियो ।

स्थानीय निर्वाचन २०७९ मा पाँच दलीय गठबन्धनको उम्मेदवारको रुपमा नेपाली काँग्रेसबाट निर्वाचित भएका थिए। घर्तीले एमालेका भूमिराज घर्तीलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?