बलात्कार पीडित बालिकालाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा ‘पञ्च’हरूलाई कैद र जरिबाना

सप्तरी, पुस १९

डाक्नेश्वरी नगरपालिका–७ की १७ वर्षीया नन्की भनिने सङ्गिता मण्डललाई आत्महत्या गर्न बाध्य पारेको कसुरमा जिल्ला अदालतले ‘पञ्च’हरूलाई कैद र जरिबाना गरेको छ ।

बालिकालाई बलात्कार गरेका आरोपितहरूविरुद्ध उजुरी गर्न रोक लगाएको कसुरमा  गाउँले पञ्चहरूलाई पुस १८ गते जिल्ला अदालतले कैद र जरिबानाको फैसला गरेको हो ।

सप्तरी जिल्ला अदालतबाट पहिलो पटक पञ्चहरूलाई कैद सजायको फैसला गर्दै न्यायाधीश हेमन्त रावलको इजलासले आरोपितहरूको नजिकका नातेदारसमेत रहेका सोही गाउँका ५० वर्षीय शत्रुघन मण्डल र ४५ वर्षीय उचितलाल मण्डललाई एक वर्ष कैद र २५ हजार रुपियाँ पीडित परिवारलाई क्षतिपुर्ति बापतको रकम  भराउने फैसला भएको हो ।

पञ्चायतमा सहभागी ५० वर्षीय सत्यनारायण मण्डल, ६० वर्षीय बासुदेब मण्डल, शत्रुघ्नका दाजु ६५ वर्षीय जयकान्त मण्डल, भाई ४५ वर्षीय देबु मण्डल, सोही उमेरका बिन्देश्वर मण्डल र बंशराज मण्डललाई जनही २० हजार रुपियाँ जरिबाना गरी निजहरू सबैबाट जनही २५ हजार पीडित परिवारलाई क्षतिपुर्ति बापतको रकम भराउने फैसला भएको श्रेस्तेदार कुमार मास्केले बताए ।

सामूहिक बलात्कार घटनाका मुख्य आरोपित १७ र १६ वर्षीय दुई बालकलाई कसुरदार ठहर गरी सजाय निर्धारणका लागि पुस २८ गते तोकिएको छ ।

गिरफ्तारीमा परेका दुवै बालक हाल बालसुधार गृह विरगञ्जमा छन् । सोही घटनामा वारेण्टपछि अदालतमा हाजिर भएका २७ वर्षीय धर्मदेव मण्डललाई मुख्य कसुरदारलाई हुने सजायको आधा सजाय हुने ठहर गरिएको छ ।

अर्का फरार २५ वर्षीय  विसु भनिने विष्णु मण्डलको हकमा गिरफ्तार भएपछि फैसला हुने गरी मुद्दा मुल्तबी राख्ने निर्णय भएको छ ।

स्थानीय चार जनाले बलात्कार गरेको उजुरी गर्न पञ्चहरूले रोक लगाएपछि घटनाको दोस्रो दिन ०७७ भदौ ३० गते सङ्गीताले आत्महत्या गरेकी थिइन् ।

भदौ ३० गते नै सबैभन्दा पहिले इन्सेक अनलाइनमा ‘बलात्कार घटनाबाट पीडित बालिकाद्वारा आत्महत्या’ शीर्षकको समाचार सार्वजनिक भएको मानबअधिकारकर्मी इन्सेकका प्रतिनिध मनोहरकुमार पोखरेलले बताए ।

सामूहिक बलात्कार घटनाका आरोपितहरूविरुद्ध प्रहरी कार्यालयमा उजुरी गर्न गाउँलेहरूले नै रोक लगाउँदै धम्कीपूर्ण चेतावनी दिएपछि पीडित बालिकाले घरमै झुण्डिएर आत्महत्या गरेकी थिइन् ।

शवको पोष्टमार्टम धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भदौ ३१ गते भएको थियो । प्रहरीले आत्महत्या दुरुत्साहनमा जयकान्त, बासुदेव र सत्यनारायणलाई ०७७ भदौ ३० गते गिरफ्तार गरेको थियो । बलात्कारको आरोपमा दुई बालकलाई असोज १ गते राति प्रहरीले गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतले शत्रुघ्न, देवु मण्डल, झमेली मण्डल, उचितलाल मण्डल र रामजी भनिने बेचन मण्डललाई साउन २ गते तथा विन्देश्वर मण्डल र वंशराज मण्डललाई साउन १९ गते ‘पक्राउ पुर्जी’ जारी गरेको थियो ।

जिल्ला अदालतमा असोज २१ गते उजुरी दायर भएकोमा दुई आरोपित बालकलाई अदालतले असोज २७ गते पुर्पक्षका लागि बाल सुधार गृह विरगञ्ज पठाउने आदेश गरेको थियो ।

आत्महत्या दुरुत्साहन मुद्दामा जयकान्त, बासुदेव र सत्यनारायण जनही १ लाख १० हजार रुपियाँ धरौटी राखेर पुर्पक्षका लागि रिहा भएका थिए ।

जिल्ला प्रहरी कार्यालयको टोलीले राजविराजबाट ०७७ पुस ६ गते शत्रुघ्नलाई गिरफ्तार गरेकोमा अदालतले पुस ८ गते २ लाख रुपियाँ धरौटी राखी पुर्पक्षका लागि रिहा गरेको थियो ।

 

 

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?