हेमनाथ खतिवडा । साझाकथा
काठमाडौं, पुस १९
समाजमा विभिन्न खाले विकास र परिवर्तन भइरहेका छन् । यस्ता परिवर्तनसँग परम्परागत केही कुरा भने लोप हँुदै जाँदैछन् ।
हितकर कुरा भने जोगाउनु पर्छ भनिन्छ तर कतिपय यस्ता कुरा जोगाउनै सकिन्न ।
स्वस्थकर कुरा जसले समाजमा कुनै हानी गर्दैन, फाइदै फाइदा गर्छ भने त्यस्ता कुरा लोप हुनु राम्रो होइन भन्ने तर्क संस्कृतिप्रेमी र संस्कृतिविद्को भनाइ छ ।
समाजको उन्नयनका निम्ति पनि कति कुरा हराएर जाने गर्दछन् । केही वर्ष पहिले बाटोमा हिँड्दै गर्दा वा घुम्दा देख्ने गरेको पानीको सहायताले घुम्ने ढुंगाको घट्ट अचेल धेरै ठाउँमा लोप हुन थालेको छ ।
यस्ता घट्ट ग्रामीण क्षेत्रमा भने भेटिँदैछन् । मकै, कोदो, फापर, गहुँ पिसेर पिठो बनाउन दिनभर लगाएर पानीघट्टमा धाउने चलन थियो । कालिका गाउँपालिका–३ का वृद्ध खेमराज देवकोटालाई बिहान उज्यालो नहुँदै फलाखु खोला घट्टजानेको ताती लागेको स्मरण ताजै छ ।
अहिले त विद्युत् विस्तारले गाउँमै मिल खुलेपछि पानीघट्ट बन्द भएको देवकोटा सुनाउँछन् । उनी भन्छन्, ‘हिमाली क्षेत्रमा कतै भए मात्र रसुवामा परम्परागत पानी घट्ट मासियो ।’ उनी थप्छन्, ‘पानीघट्टको पिठोको रोटी वा ढिँडो स्वाद निकै मिठो हुन्छ भने धेरै ताकत दिन्छ ।’
‘मिलको पिठो चाँडै बिग्रने हुन्छ’, देवकोटा थप्छन्, ‘ढिँडो त कहिलेकाँही खाइन्छ । उहिलेको जस्तो स्वाद अहिले खानेकुरामा पाइँदैन ।’ घट्टका पारखी कुलप्रसाद घिमिरे अचेल घट्ट खोजेर पनि नपाइने बताउँछन् ।
‘अब घट्ट खोज्न कहाँ जाने ?’, कतै कैतै त पानीघट्टको चलन कायमै भन्ने पनि समाचार पढ्न पाइन्छ । पाल्पाको माथागढी गाउँपालिका–४ मा पानीघट्टको अहिले पनि विकल्प छैन ।
घट्ट सञ्चालक कमलबहादुर बाह्रघरे भन्छन्, ‘राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा नपुगेसम्म मेरो घट्ट चल्छ ।’ प्रविधिको विकासँगै अधिकांश ठाउँमा आधुनिक घट्टले परम्परागत पानीघट्ट विस्थापित भएका छन् । विद्युत् नपुगेका ठाउँमा भने अझै पानीघट्ट लोकप्रिय छ ।
धादिङको रुविभ्याली गाउँपालिकाको तिप्लिङमा परम्परागत पानीघट्ट चलाउँदै आएकी सर्जु तामाङ भन्छिन्, ‘विद्युत् नभएकाले पानीघट्ट चलिरहेको छ । यसले एकातिर मेरो परिवार धानेको छ भने अर्कोतिर संस्कृति जोगाएको छ ।’
विद्युत् विस्तार भएपछि भने ठूलो लगानी गरेर मेसिन किन्नुपर्ने स्थानीय बताउँछन् । ‘अहिले दिनभर मकै, गहुँ, जौ, फापर, कोदोजस्ता अन्न पिस्नमा ब्यस्त रहन्छु’, उनीे भन्छिन् । पानीघट्ट मानव जीवनमा निकै लामो समयदेखि उपयोग भएको घरेलु यन्त्र हो ।
पानीले मदानी घुमाएपछि घट्ट घुम्छ र विस्तारै अन्न पिसिन्छ । यस्तो घट्ट आधुनिकताको भरिभराउ सहरमा नदेखे पनि कतै कतै ग्रामीण क्षेत्रमा भने अझै पाइन्छ । पहिले खोला किनारमा घट्ट थापेर पिस्दै गुजारा चलाउने धेरै भेटिन्थे ।
पानीबाट चल्ने अथवा घुम्ने एक प्रकारको यन्त्र हो । जसको प्रयोगबाट मकै, गहुँ, कोदो, फापर जस्ता खाद्य पदार्थहरू पिस्ने गरिन्छ । विषेशगरी नेपालको ग्रामीण इलाकामा यसको प्रयोग हुन्छ ।
पानीघट्ट प्राचीनकालदेखि नै मानव जीवनमा उपयोग गरेको पाइन्छ । बगेको पानी ठाडो गरी राखिएको काठको सानो डँुडबाट जोडले सानो मुडोमा मिलाएर अड्काइएका मदानी फोहोरामा पारिन्छ ।
यसकै जोडले मानीका साथमा जोडिएको फालीसँगै बाटुलो ढुंगा फनफनी घुम्छ । यही घुमाईसँगै कम्पनले अन्नका दाना बिस्तारै खस्छन् र पिसेर धुलो बन्ने गर्दछ ।
सोलीमा अन्न खन्याइन्छ र अन्न सोलीबाट सोलीको मुखमा भएको धारा हुँदै घट्टमा खस्दछ । यसको लागि सोली र घट्टको माथिल्लो फक्लेटोमा चरो जोडिएको हुन्छ ।
अचम्मको कुरा के छ भने घट्टमा पिस्न लिएको अन्नमा घुन छ भने अन्न पिसेर मसिनो पिठो भएर घट्ट हेर्दा सामान्य जस्तो लाग्छ । तर पनि यसको सबै प्रक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार नै थियो ।
पानीघट्टको संरक्षण गर्न जरुरी रहेको लमजुङका चन्द्र तामाङ बताउँछन् । भन्छन्, ‘मानव सभ्यताको विकाससँगै मानिसका आवश्यकताहरूले विभिन्न किसिमका ज्ञान विज्ञानको पनि सिर्जना भएको पाइन्छ ।’
हाम्रा पुर्खाहरूले जीवन जिउने क्रममा आइपरेका विविध समस्याहरूको समाधानका लागि विभिन्न उपायहरूको खोजी गर्दै जाँदा घट्ट पनि प्रयोगमा आएको उनको बुझाइ छ । विद्युत अभाव भएका ग्रामीण क्षेत्रमा भने विकल्प छैन ।
यस्ता घट्ट चलाउने व्यक्तिलाई घटेरो भनिन्छ । पिठो बनाएबापत घटेरोले त्यही अन्नबाट निश्चित मात्रा ज्याला लिएर जीविका चलाउँछन् ।
बढ्दो आधुनिकतासँगै सहर बजारमा पानी घट्टको प्रयोग हुन छाडेका छन् । यद्यपि गाउँबस्तीमा भने घट्टको लोकप्रियता नघटेको मनाङका सेनाम गुरुङको भनाइ छ, ‘हाम्रो ठाउँमा पानी घट्टको विकल्प छैन ।’
पानी घट्टमा खाद्य पिसानी गर्दा सस्तो पर्नुको साथै घट्टमा पिसिएको खाद्य निकै स्वादिलो हुने भएकाले पिसानीको लागि पानी घट्टको नै प्रयोग गरेको पाइन्छ ।
‘पानी घट्ट हेर्दा सामान्य जस्तो लागे पनि यसको सबै पक्रिया राम्ररी अध्ययन गर्ने हो भने यो त्यतिबेलाको वैज्ञानिक चमत्कार हो’, चन्द्र तामाङ बताउँछन्, ‘यसको संरक्षण गर्न जरुरी छ ।’