काठमाडौं, पुस १९
स्पिकर्स फोरम नेपालले आयोजना गरेको ‘प्रदेशसभाको आगामी कार्यभार र स्पिकर्स फोरमको दायित्व’ अन्तक्र्रिया कार्यक्रममा उनले केही कानुनी जटिलताबीच पनि सङ्घ र प्रदेशसभामार्फत् सकारात्मक काम भएको बताए । त्यसका आधारमा आगामी कार्यलाई प्रभावकारी बनाइनुपर्नेमा उनले जोड दिए ।
‘अबका दिनमा परिवर्तनलाई संस्थागत गर्न लोकतान्त्रिक गणतन्त्रलाई जनप्रिय र लोकप्रिय बनाउन जनप्रतिनिधिले व्यवहार बदलेर जनताको पक्षमा काम गर्न जरुरी छ’, उनले भने । सङ्घ, प्रदेश र स्थानीय तहको उद्देश्यअनुरूप अधिकार सम्पन्न बनाउन सकिएको छैन ।
तिमिल्सिनाले देशको आर्थिक अवस्थालाई मध्यनजर गर्दै सङ्घ तथा प्रदेशमा मन्त्रिमण्डल सानो आकारको बनाइ आर्थिक मितव्ययिता कायम गरिनुपर्नेमा जोड दिए ।
मुलुकको संविधानको व्यवस्थाअनुरूप कुनै पनि दलको स्पष्ट बहुमत नआउने अवस्था रहेकाले सत्ता गठबन्धन अपरिहार्य रहेको भन्दै गठबन्धन सरकार बनाउँदा थोरै मन्त्रालय बनाइनुपर्ने धारणा राखेका थिए ।
प्रदेशसभा र संरचना भद्दा र खर्चिलो भयो भनेर आलोचना हुने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले कमिकमजोरीलाई सच्याएर बलियो बनाउन आवश्यक रहेको बताए । ‘प्रदेशमा मन्त्रालय धेरै भए काम प्रभावकारी भएन भन्ने आलोचना बढेको छ’, उनले भने, ‘सांसद भएपछि मन्त्री हुनैपर्छ भन्ने प्रवृत्ति रोकिनुपर्छ ।
अहिलेको आलोचनालाई भविष्यमा सुधार गरेर जानुपर्छ ।’ नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेशसभालाई अधिकार सम्पन्न बनाइ जनताको पक्षमा प्रभावकारी काम गर्नुपर्ने खाँचो औंल्याए ।
उनले जनप्रतिनिधि कानुन बनाउने भन्दा पनि विकासका लागि धाउनुपर्ने बाध्यताको अन्त्य गरी सङ्घ र प्रदेशसभालाई कानुनमार्फत् प्रभावकारी थलोका रूपमा विकास गरिनुपर्नेमा जोड दिए । ‘सङ्घ, प्रदेश र स्थानीय तहको उद्देश्यअनुरूप अधिकार सम्पन्न बनाउन सकिएको छैन ।
केन्द्रिकृत प्रवृत्ति हाबी भइरहेको छ, त्यसकारण प्रणालीलाई ठीक ढङ्गले चलाउन कठिन भएकै सन्दर्भमा जनचाहनाबमोजिम राष्ट्रियसभाको कामलाई प्रभावकारी बनाइनुपर्छ’, पूर्व सभामुखसमेत रहेका नेता पौडेलले भने ।
कार्यक्रममा पूर्वसभामुख ओनसरी घर्तीले जनप्रतिनिधिको थलो संसद्को भूमिकालाई प्रभावकारी बनाएर जनताको हितमा काम गर्न जनप्रतिनिधि केन्द्रित हुनुपर्ने बताइन् ।
उनले आवश्यक ऐन, कानुन बनाउन ढिलो भएका कारण प्रदेशसभा प्रभावकारी बन्न नसकेको उल्लेख गर्दै प्रदेशसभाको अनुभवलाई जीवन्त आगामी भूमिकालाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिए ।
राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थान तथा सरकारी आश्वासन समितिका सभापति मायाप्रसाद शर्माले राष्ट्रिय राजनीतिलाई दिगो बनाउन र परिवर्तित व्यवस्थालाई स्थापित गर्न फोरमले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावल थापा (पार्वती)ले संसदीय प्रणालीलाई बलियो र प्रभावकारी बनाउन जनप्रतिनिधि जिम्मेवारपूर्वक ढङ्गले लाग्नुपर्नेमा जोड दिइन् ।
राष्ट्रियसभाका पूर्व उपाध्यक्ष शशिकला दाहालले सङ्घ र प्रदेशको प्रभावकारी समन्वयमा सुशासन र समृद्धिका लागि काम गर्नुपर्नेमा जोड दिइन् ।
कर्णाली प्रदेशका निवर्तमान सभामुख एवं स्पिकर्स फोरमका संयोजक राजबहादुर शाहीले लामो बलिदानीपूर्ण सङ्घर्षबाट अहिलेको व्यवस्था आएको भन्दै सङ्घ र प्रदेशबीचको सम्बन्ध स्थापित गर्न फोरमले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
राससबाट