मध्यविन्दु, पुस २०
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जिल्ला ट्राफिक प्रहरी कार्यालयको आफ्नै भवन नहुँदा सेवा सञ्चालन गर्न असहज भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयअन्तर्गत १३ ट्राफिक चेक पोस्ट रहेका छन् ।
जिल्ला विभाजनसँगै छुट्टिएको जिल्ला ट्राफिक कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) बिलखबन्दमा छ । यसअघि समग्र दाउन्ने पूर्वको ट्राफिक व्यवस्थापन पूर्व नवलपुरबाटै चल्थ्यो ।
ट्राफिक व्यवस्थापन गर्नुपर्ने भएकाले राजमार्ग केन्द्रीत यो कार्यालय दशकौँदेखि सडकछेउ भाडाकोे घरमा सञ्चालनमा रहेको कार्यालय प्रमुख प्रहरी निरीक्षक प्रदिप थापाले बताए ।
“पश्चिम नवलपरासीको भूमहीमा जिल्ला ट्राफिकको अत्याधुनिक कार्यालय बनिसक्दा नवलपरासी पूर्वको जिल्ला ट्राफिक प्रहरी कार्यालय २०७२ देखि भाडाको घरबाट सेवा प्रवाह गरिरहेको छ”, उनले भने ।
अहिले यो भवन जीर्ण छ । पुरानो घरमा यहाँ २२ ट्राफिक प्रहरी कार्यरत छन् । “कोठा अपुग हुँदा समस्या भएको छ”, थापाले भने ।
पूर्व–पश्चिम राजमार्गको कावासोती–३ मा यसको कार्यालय रहेको छ । साँघुरो भवनसँगै अगाडि खुल्ला ठाउँ पर्याप्त नभएका कारण काम गर्न असहज हुनाका साथै सवारीसाधन राख्नसमेत समस्या भएको ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी लेखनाथ पुरीले बताए ।
“हामीले सवारीसाधन यहाँ राख्न नसकेर प्रहरी कार्यालय नजिकको रिफ्रेससेन्टरमा राख्ने गरेका छौँ”, उनले “यसले कार्य सम्पादनमा अप्ठेरो परेको छ, पर्खाल नै छैन, बिग्रियो भने सवारीसाधन बाटोमै राख्नुपर्छ” भने ।
नयाँ जिल्लामा नयाँ सदरमुकामको प्रारूप तयार भई सङ्घ तथा प्रादेशिक कार्यालयलाई जग्गा छुट्याइँदा पनि जिल्ला ट्राफिकका लागि भने जग्गाको टुङ्गो लाग्न सकेन । ट्राफिक प्रहरीले सडकसँग जोडिएको जग्गा खोज्दैआएको छ ।
दैनिक सडकको ट्राफिक व्यवस्थापनलगायत काममा संयोजन गर्न मुश्किल हुने गरेको छ । “समस्याबारे सबैलाई अवगत गराएका छौँ”, भने ।
राससबाट