कमलादेवी गौतम । साझाकथा
काठमाडौं, पुस २०
कार्तिक–माघ जाडो महिना । खेतीपातीका दृष्टिले अहिले अलि फुर्सदको समय पनि । यही समयमा तातोपानीमा नुहाउने मेला लाग्छ ।
मानिसहरू विभिन्न रोग नुहाएरै निको हुने विश्वास गर्छन् ।
घुमघाम र स्वास्थ्य समस्या निको हुने विश्वासका साथ टाढाबाट नुहाउन जान्छन् । तातोपानी भूगर्भबाट आएको हुनाले खनिज तत्व मिसिएको हुन्छ । तातो वाफ आउँछ । बाहिर चिसो हावा बहन्छ ।
‘सुरुमा त पानीले पोल्छजस्तो हुन्छ । एकछिन डुबेपछि मजा आउँ छ ।’ तातोपानी नुहाउने पारखी तनहुँका हरिप्रसाद आचार्य भन्छन्, ‘नुहाएर आनन्द त भैहाल्छ । शरीरको रोग पनि निको हुन्छ ।’
दमरोग र पेटको समस्या निको भएको उनी सुनाउँछन्, ‘वर्षेनि एक पटक भने नुहाउनु पर्छ ।’ तातोपानीको मूल नजिक पुग्नासाथ गन्धक र बिरेनुनको गन्ध आउँछ ।
तातोपानी रसुवाको चिलिमे, टिमुर र स्याफ्रुबेशीमा छ । म्याग्दी, सिन्धुपाल्चोक, जुम्ला, हुम्लालगायत धेरै ठाउँमा छ ।
हुम्लाको खार्पुनाथमा रहेको तातोपानीमा नुहाएर बाफ लिएर स्वास्थ्य समस्या निको पार्न धेरै गाउँबाट मानिसहरू आउने गरेका छन् । हुम्लाको नाम्खा, केर्मी, उनापानी, दर्बी र सर्केगाडमा तातोपानीको कुण्ड रहेको स्थानीय धिरु भण्डारी सुनाउँछन् ।
धिरु थप्छन्, ‘बाफ लिने र नुहाउने मात्र होइन, पानी पिउने र जीउ मसाज गरे जीउ दुख्ने छिट्टै निको हुन्छ ।’
कर्णाली नदीनजिकै रहेको तातोपानीमा नुहाएर शारीरिक लाभ लिन्छिन्, स्थानीय सम्झना शाही । उनी भन्छिन्, ‘तातोपानीको कुण्डमा बृद्धबृद्धाहरू छाला र बाथ रोग निको पार्न साताभरी नुहाएर फर्कन्छन् ।’
म्याग्दी बेनी–४ मा पर्ने सिगा तातोपानीमा पनि ठूलै मेला लाग्छ । मौसममा यात्रुहरू खचाखच भएपछि कहिले त नुहाउने तालिका सार्वजनिक गरिन्छ । बेनीबाट ९ किमी टाढा रहेको सिंगा तातोपानीमा कहिले त दैनिक १ हजार बढि यात्री आउने गरेको स्थानीय श्याम शाही सुनाउँछन् । उनी थप्छन्, ‘मेला लागेको समयमा यहाँ राम्रो ब्यापार पनि हुन्छ ।’
चिसो मौसममा जुम्लाको तातोपानी गाउँपालिका–२ जर्मीमा रहेको तातोपानी पोखरीमा डुबुल्की मार्नेहरू पनि धेरै हुन्छन् । यहाँ अन्तरिक तथा बाह्य पर्यटकहरू नुहाउन आउँछन् । धेरैको स्वास्थ्य उपचारप्रति विश्वास छ ।
वर्षौंदेखिको छालाको दाद यहीं नुहाएर निको भएको जुम्लाका कृष्ण न्यौपाने भन्छन्, ‘धेरै पटक अस्पतालको औषधि गरियो तर निको भएन तातोपानीले चट् भयो ।’
चैत महिनासम्म यहाँ नुहाउनेको भिड लाग्ने गरेको जुम्लाकै दशरथ चनारा सुनाउँछन् । उनी भन्छन्, ‘हाडजोर्नी दुखेको निको हुन्छ । नुहाउने समयमा न्यानो कपडा र पोसिलो खानेकुरामा भने ध्यान दिनुपर्छ । नुहाएर आराम पनि गर्नुपर्छ ।’
यात्रीहरूको चाप बढ्ने समयमा तालिका बनाउने, महिला र पुरुष बेग्लाबेग्लै पोखरीमा नुहाउन व्यवस्था छ । युरिक एसिड, बाथजस्ता समस्या, घुँडा, ढाड दुखाई, मोटोपन, नसा र छालाका समस्या निको हुने जनविश्वास छ ।
आइरन, गन्धक र अक्साईडको मिश्रण हुने भएकाले यहाँको पानी तातो हुने विज्ञहरू सुनाउँछन् । जाडो मौसममा यहाँको पानीको तापक्रम ४२ देखि ६३ डिग्री सेन्ट्रिग्रेड हुने र गर्मीमा २८ देखि ३७ डिग्री सेन्ट्रिग्रेडको बीचमा रहन्छ ।
डा. उज्वल पौडेल भन्छन्, ‘तातोपानीमा मिनरल तत्व हुन्छ । बढी सल्फर पाइन्छ । यसबाहेक म्याग्नेसियम, बाइकार्बोनेट, क्याल्सियम, पोटासियमजस्ता तत्व मुख्य रूपमा पाइन्छ ।’
त्यसले हाडजोर्नी दुख्ने समस्या र छालाका समस्या निको हुन्छ । पौडेल थप्छन्, ‘तातोपानीमा नुहाउँदा तवावमुक्त हुने र शारीरिक आनन्द प्राप्त हुने पनि छँदैछ ।’
यसबारे बाथ रोग विशेषज्ञ डा. बिनित वैद्यले म्याग्दीको तातोपानीमा अध्ययन गरेका तातोपानीको बाफले दम तथा स्वासप्रश्वास समस्याका लागि पनि सहज हुने र धेरैपटक जानेको अनुभवबाट छाला एलर्जी छाला र छाला सुख्खा हुने समस्याका लागि काम गर्नेसमेत देखिएको छ ।
२०६९ सालमा रसुवाको चिलिमेमा रहेको तातोपानीको कुण्डमा नुहाएर मजा लिएका ललितपुर खोकनाका स्वयम्भुराज डंगोल भन्छन्, ‘साङ्जेन हिमाल हेर्दै तातोपानीको पोखरीमा डुबुल्की मारेर नुहाउँदै निकै आनन्द आउँछ ।’
अहिले तातोपानी सुकेको खबरले दुःख लागेको सुनाउँदै उनी थप्छन्, ‘स्वास्थ्य, धार्मिक तथा पर्यटकीय दृष्टिले निकै ख्याती कमाए थियो । यहाँ आन्तरिक तथा विदेशी पर्यटकहरूको भिड लाग्ने गरेको थियो ।’
‘२०७२ सालको विनाशकारी भूकम्पका कारण तातोपानीको मुल सुकेपछि चिन्ता परेको यही मंसिरमा पुनः पानी निस्केको छ’ स्थानीय नोर्चेल तामाङ भन्छन्, ‘पानी सुक्ने र निस्कने क्रम चलिरहेको छ । अहिले तातोपन कम छ । पहिलेकै जस्तो तातोपानी निस्के आश छ ।’
तातोपानीबाट साङजेन, पाल्दोरपिक जस्ता रमणीय हिमाली दृष्यहरू देख्न सकिने हुनाले पनि धेरै स्वदेशी तथा विदेशी आउने गरेका हुन् ।
आमाछोदिङमो गाउँपालिका ५ का वडा अध्यक्ष बाबु तामाङ भन्छन्, ‘नेपालकै सबभन्दा ठूलो तातोपानीको मुहान थियो । पानी सुकेपछि यहाँ घटेको थियो तर अचेल बरिपरी घुम्नेहरू पनि यहाँ बस्न आउँछन् ।’
सिन्धुपाल्चोकको बाह्रबिसेमा रहेको तातोपानीमा पनि यो मौसममा नुहाउनेको भिड लाग्छ । खोटाङका टेकनाथ बिक भन्छन्, ‘घुम्ने क्रममा यहाँ नुहाएपछि शरीर सुन्निएको, मर्किएको निको भयो ।’
‘विस्तारै खानामा रुची बढ्ने रहेछ । सुरुमा त पोल्छ जस्तो लाग्यो तर नुहाउँदा आनन्द प्राप्त भयो’, उनी थप्छन्, ‘तातोपानीले ठूलो उपचारको काम गर्ने विश्वास गरेको छु ।’