साझाकथा संवाददाता
काठमाडाै, पुस २०
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
सिंहदरबारस्थित माओवादीको संसदीय दलको कार्यालयमा भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
उनले बीच एकीकृत समाजवादीबाट समर्थनसहित सरकारमा सहभागिता, विश्वासको मतलगायत विषयमा छलफल भएको थियो । प्रधानमन्त्री दाहालले यही पुस २६ गते प्रतिनिधिसभाबाट विश्वासको मत लिँदै छन् ।
प्रम दाहाल विभिन्न राजनीतिक दलसहित एक सय ६९ सांसदको समर्थनमा यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । नेपालको संविधानको धारा ७६ उपधारा (२) बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले सोही धाराको उपधारा (४) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने प्रावधान छ ।