शीतभण्डार प्रयोगविहीन

उदयपुर, पुस २१

कटारी नगरपालिका–४ मा दुई वर्षअघि निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन अवस्थामा रहेको छ ।

कृषकको उत्पादन भण्डारण गर्ने उद्देश्यले रु १८ लाख लागतमा निर्माण गरिएको शीतभण्डार अलपत्र अवस्थामा पुगेको हो । हेल्भेटास नेपाल र कटारी नगरपालिकाको ५०/५० प्रतिशत गरी रु १८ लाख लागतमा कृषिउपज परिसरसँगै निर्माण गरिएको शीतभण्डार प्रयोगविहीन रहेको हो ।

वडाध्यक्ष भूपेश तामाङका अनुसार कार्यविधि नै नभएकाले यसलाई प्रयोगमा ल्याउन सकिएको छैन । “यसपटक बल्ल कार्यविधि बनाइसकेको छ, अब कार्यपालिका बैठकले पारित गरेपछि प्रयोगमा ल्याउने तयारीमा छौ”, ।

नगरपालिकाको विधान समितिका संयोजकसमेत रहेका वडाध्यक्ष तामाङले भने , “यो कटारीकै महत्वपूर्ण शीतभण्डार हो यसलाई प्रयोगमा ल्याउन पहल गरिरहेका छौं।”

सामान्य ट्रस भवन निर्माण गरेर खुल्लै स्थानमा राखिएको शीतभण्डार आसपास झाडी पलाइसकेको छ । “यसको परीक्षणसमेत गरिएको छैन सञ्चालन हुन्छ हुँदैन थाहा छैन”, स्थानीय भरत खत्रीले भने , “अहिले कृषकले उत्पादन गरेको कृषि वस्तु भण्डारण गर्ने ठाउँ छैन शीतभण्डार बिग्रिसक्यो ।”

कटारी नगरको पहाडी भेगमा कृषकले उत्पादन गरेका कृषि उत्पादन भण्डारण गर्ने शीतभण्डार नहुँदा समस्या रहेको छ । पहाडी वडामा सुन्तला, डल्ले खुर्सानी, अदुवा विभिन्न तरकारीको व्यावसायिक खेती हुने गरेको छ तर शीतभण्डार नहुँदा समस्या छ ।

राससबाट

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?