साझा कथा विशेष
“कति समय जाला वर्तमान दोस्ती ?”
झापा विद्रोहबाट नेपाली राजनीतिमा उदाएका केपी शर्मा ओली र १० बर्षे शसस्त्र युद्धबाट चर्चा कमाएका पुष्पकमल दाहाल प्रचण्डबीच शत्रुता र मित्रताको लामै फेहरिस्त छ ।
प्रचण्डको भनाई अनुसार युद्धकालमै भारतको सिलीगुडीमा यी दुई नेताबीच पहिलो अर्थपूर्ण भेटवार्ता भएको थियो । प्रचण्डको दाबी अनुसार त्यो भेटवार्ताले एकअर्कालाई हेर्ने दृष्टिकोण एकदमै सकारात्मक बनेको थियो ।
तर परिस्थिति नकारात्मक भयो । चाहे त्यो युद्धकाल होस् या प्रचण्ड नेतृत्वको पहिलो सरकार बन्दै गर्दा होस्, माओवादी र प्रचण्डप्रति ओलीको धारणा कहिल्यै सकारात्मक सुनिएन ।
शान्ति प्रकृया सुरु भएपछि प्रचण्ड र ओलीबीच वाकयुद्ध चलेकै थियो । बाबुराम भट्टराई नेतृत्वको सरकार बन्दै गर्दा त प्रचण्डले खुल्ला मञ्चबाट ओलीको दिमागी सन्तुलन ठिक नभएको समेत आरोप लगाएपछि यी दुई नेताबीचको कटुताले हद पार गरेको थियो । त्यसपछि बागमतीमा धेरै पानी बगिसकेको छ ।
खासगरी २०७२ सालमा संविधान बनाउँदा होस् वा ०७४ को चुनावअघिको परिस्थिति होस्, दुई नेताबीचको केमेष्ट्रि मिल्दै गयो । फलतः धेरैलाई सुइँको समेत नदिई उनीहरुले एमाले र माओबादीलाई एउटै पार्टी बनाउने उद्घोष सहित चुनावमा कार्यगत एकता गरे र चुनावपछि पार्टी एकता नै गरे ।
एकताका पछाडी आन्तरिक रुपमा ओलीको विग्रदो स्वास्थ्यले आफूलाई फाइदा हुने प्रचण्डको आँकलन अनि माओवादीको बलमा बहुमत ल्याउने ओलीको चाहना कारक हुनसक्छ ।
सत्रुतापूर्ण सम्बन्धलाई घनिष्ठतामा परिणत गरेका दुई नेताबीचको दोस्ती लामो समय भने चलेन । प्रचण्डले सोँचे अनुसार पार्टीमा हस्तक्षेप हुन सकेन भने ओलीको निषेधकारी नीतिका कारण प्रचण्ड मात्र होइन एमालेमा बरिष्ठ नेताद्धय माधव नेपाल र झलनाथ खनालहरु समेत अटेनन् ।
हालै सम्पन्न चुनावको नतिजा नआउञ्जेल एकअर्कालाई सरापेर नथाकेका दुई नेताबीच फेरि नाटकीय दोस्ती सुरु भएको छ । सुरुमा चर्चा गरौँ किन र कसरी मिले ओली – प्रचण्ड ?
निर्वाचन अघिसम्म ओलीलाई लागेको थियो, आफ्नो क्रेजका कारण एमालेले बहुमत ल्याउने छ । प्रचण्डलाई लागेको थियो, गठबन्धनको बलमा एमालेको आकार सानो बनाइनेछ । तर परिस्थिति दुबैले सोँचे अनुरुप भएन ।
ओलीलाई लागेको थियो, माओवादी विनाको कम्युनिष्ट आन्दोलन हाँस्न एमाले सक्षम छ । प्रचण्डलाई लागेको थियो, ओलीसँग कम्युनिष्ट चरित्र छैन, त्यसैले कम्युनिष्ट जनमत माओवादीको पक्षमा आउन सक्छ ।
तर दुबैले सोँचे अनुसार भएन । प्रचण्डलाई लागेको थियो, दुई पटक संसद विघटन गर्दाको परिणाम ओलीले निर्वाचनमा भोग्नेछन् । ओलीलाई लागेको थियो, चुनावी भेलामा देखिएका सबै मानिसको भोट आउनेछ । तर दुबैले सोँचे अनुसार भएन ।
निर्वाचन अघिका आँकलन फेल खाएपछि परिस्थिति बदलियो । ओलीलाई लाग्यो, मिश्रित निर्वाचन प्रणाली भएको मुलुकमा एक्लै बहुमत ल्याउन असम्भव रहेछ ।
माओवादी विना ठूलो पार्टी बन्न पनि कठिन रहेछ । त्यस्तै प्रचण्डलाई लाग्यो, एमालेसँग गठबन्धन गर्दा बरु सिट बढ्ने रहेछ । यो त भयो पार्टीगत कुरा ।
पछिल्लो मिलेमतोमा दुबै नेताको व्यक्तिगत सत्ता स्वार्थ प्रधान हो । ओलीका अगाडी दुई विकल्प थिए । काँग्रेससँग आलोपालो गर्ने वा माओवादीसँग ।
यो बाहेकका विकल्प उनका लागि सहज थिएन । संसदीय अभ्यासमा पहिलो र दोस्रो दल मिलेर सरकार चलाउने कुरा विरलै हुन्छ र यो लोकतान्त्रिक पद्दति पनि थिएन । भारतको चाहना काँग्रेस र एमाले मिलून भन्ने रहेको चर्चाबीच ओलीले प्रचण्डलाई समर्थन गर्नु विगतमा भएको कमजोरी सच्याउन खोज्नु पनि हो ।
साढे २ बर्षअघि ओली र प्रचण्डबीच जे कारणले पानी बाराबर भयो, त्यहि विन्दुमा पुग्दा दोस्ती जम्ने अड्कल ओलीको हुनसक्छ । त्यसो गर्दा कम्युनिष्ट जनमत र आम कार्यकर्ताको भावनाको सम्मान गरेको पनि देखिने र साढे दुई बर्षपछि सत्ता सम्हाल्न पाइने ।
अर्कोतर्फ चुनावी परिणामपछि पार्टीका दोस्रो तहका नेताहरुले फेरि बाम एकताका लागि पहल गरिरहेका थिए । यसले पनि ओलीलाई प्रचण्डसँग निकट हुन मद्दत गर्यो ।
काँग्रेसले प्रचण्डलाई प्रधानमन्त्री दिन असहमत हुने छनक त निर्वाचन लगत्तै दिइसकेको थियो । त्यसमाथी देशभित्रका माओवादी विरोधी खेमा र भारत, अमेरिका लगायतले पनि काँग्रेसको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बनेको हेर्न चाहेनन् । त्यसै कारण पनि प्रचण्डले ओलीसँग वार्ता गर्न आफ्ना दुत बालकोट पठाएर आफू भने बालुवाटारमा सत्ता वार्गेनिङ गरिरहेका थिए ।
अन्तिम समयसम्म पनि काँग्रेसले सरकारको नेतृत्व नछोडेपछि प्रचण्ड हुत्तिएर बालकोट पुगे । अर्को चुनावबाट माओवादी पार्टी अझ सानो बन्न सक्ने आँकलन र अहिलेको संसदीय अंकगणितको फाइदा नउठाए अर्को पटक प्रधानमन्त्री बन्न गाह्रो रहेको विश्लेषण गर्दै प्रचण्ड बालकोट पुगेका हुन् ।
सरकारको नेतृत्व लिएर प्रभावकारी काम गरी अर्को चुनावमा पार्टी सुधार्ने महत्वाकांक्षाले पनि प्रचण्डलाई प्रधानमन्त्री नछोड्न प्रेरित गरिरहेको थियो ।
यो बाहेक छिमेकी मुलुक चीनको चाहना पनि एमाले र माओवादी मिलेर सरकार चलाउन् भन्ने थियो र सोही अनुसार चिनीयाँ दुतावासको सक्रियता देखिएको थियो ।
चीनको दवावले पनि दुई नेतालाई एकठाउँमा ल्याइदिएको हुनसक्छ । ओलीको समर्थनमा प्रचण्ड प्रधानमन्त्री भएपछि एमाले र माओवादी कार्यकर्ताहरु उत्साहित भएका छन् ।
गुम्नै लागेको सत्ता प्राप्त भएपछि एमाले र जसो गरेर भएपनि प्रधानमन्त्री पार्टीले पाएको हुनाले माओवादीहरु हर्षित भएका हुन् । तर यो हर्ष कति समय जान्छ भन्ने कुरामा भने दुबै पार्टीका नेता कार्यकर्तामा संशय छ ।
लभ एण्ड हेटको सम्बन्धबाट गुज्रिएका ओली र प्रचण्डबीच कम्तिमा दुई बर्ष दोस्ती जम्ने निश्चित नै छ तर संसदमा प्रचण्डले विश्वासको मत लिने समयभित्र कुनै खिचडी पाकेन भने ।
सरकारका काम कारबाहिमा एमाले जति हावी हुन्छ, त्यति ओली खुशी हुनेछन् । सरकार सञ्चालनमा ओली र एमालेका मन्त्रीहरुको जति साथ रहन्छ, त्यति प्रचण्ड खुशी हुनेछन् ।
राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिहरुको चलखेल नभए र सरकारमा रहेका स्वतन्त्र पार्टी र राप्रपाहरुको अहिलेकै मुड कायम रहे साढे २ बर्ष प्रचण्ड र ओलीको दोस्ती जम्ने नै छ ।
यति हुँदाहुँदै पनि दुबैले विगत सम्झिएर एकापसमा तिक्तता र रोष प्रकट गरी बदला लिन थाले भने वा राष्ट्रिय–अन्तराष्ट्रिय शक्तिले दुई नेतामध्ये एकलाई काँग्रेसको कित्तामा हुत्याइदिए भने फेरि घृणाको श्रृंखला दोहोरिनेछ ।