ग्लोबल आइएमई र बिओकेको एकीकृत कारोबार २५ गतेबाट हुने

काठमाडाै, पुस २१

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको (बिओके) एकीकृत कारोबार यही पुस २५ गतेदेखि हुने भएको छ ।

दुवै बैंकले गत मङ्सिर २३ गते सम्पन्न साधारणसभाबाट एकापसमा गाम्भे/गाभिने (मर्जर) सम्बन्धी प्रस्ताव पारित भएसँगै नेपाल राष्ट्र बैंकले मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

राष्ट्र बैंकले यही पुस १७ गते र कम्पनी रजिष्ट्रारको कार्यालयले पुस १९ गते मर्जरको अन्तिम स्वीकृति दिएको थियो । दुई बैंक मर्जरपछि ग्लोबल आइएमई बैंकका नामबाट आगामी पुस २५ गतेदेखि एकीकृत कारोबार सुरु हुन लागेको हो ।

मर्जरपछि बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आइएमई लिमिटेडको केन्द्रीय कार्यालय रहेको स्थान बागमती प्रदेश, काठमाडौँ जिल्ला वडा नं २८ कमलादीमा हुने कम्पनीले जानकारी दिएको छ ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डुको एक बराबर एकको स्वाप रेसियोमा मर्ज हुन लागेका हुन् । बैंक अफ काठमाण्डुको एक सय कित्ता शेयर भएका शेयरधनीले मर्जरपश्चात् ग्लोबल आइएमई बैंकको एक सय कित्ता शेयर प्राप्त गर्नेछन् ।

मर्जरपश्चात् बन्ने बैंकको चुक्ता पुँजी रु ३४ अर्ब ४१ करोड पुग्नेछ । बैंकको वित्तीय विवरणका आधारमा मर्जरपश्चात् बैंकको निक्षेप रु तीन खर्ब ८० अर्ब ५२ करोड र कर्जा रु तीन खर्ब ६२ अर्ब ४० करोड पुग्नेछ । मर्जरपश्चात् बैंकको शाखा सञ्जाल तीन सय ६५ र एटिएम तीन सय २८ पुग्नेछन् ।

पुस २५ गते एकीकृत कारोबार अगाडि तीन दिन बैंक अफ काठमाण्डु लिमिटेडले तीन दिन सेवा बन्द गर्ने भएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?