काठमाडौ, पुस २२
नेपालका लागि नर्वेजियन राजदुत तोरुन ड्रमडालले सन् २०२६ सम्म नेपाल अतिकम विकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्ने बताएका छन् ।
नेपाललाई अतिकम विकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नका लागि बलियो संस्थाको निर्माण र सुशासन महत्वपूर्ण संवाहक रहेको ड्रमडालको भनाई छ ।
उनले सेवाग्राही संस्थाहरु सुदृढ भएमात्र पदीय शक्तिको दुरुपयोग रोक्नसक्ने विश्वास व्यक्त गरे । राजदुत ड्रमडालले भने, “शान्ति प्रक्रियामा भएको उल्लेख्य प्रगतिलाई ध्यानमा राखेर नेपाल सही दिशामा अघि बढिरहेको छ ।
नेपालमा प्रगतिशील संविधान छ । यस वर्षको मे र नोभेम्बरमा भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, जुन लोकतन्त्रका लागि कोशेढुङ्गा हो । समावेशी लोकतन्त्र र सुशासनले नेपाललाई मध्यम आय भएको मुलुक बनाउन सहयोग गर्नेछ ।”
राजदुत ड्रमडालले नर्वेमा संघीय शासन प्रणाली नभएपनि नेपालको संघीय संसद जस्तो लोकतान्त्रिक संस्थामा संसदको खुलापन र पारदर्शीताको क्षेत्रमा युएनडीपीमार्फत सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।
फरक सन्दर्भमा राजदुत ड्रमडालले जलवायु परिवर्तनबाट पर्ने असर न्युनीकरणका लागि नर्वेले नेतृत्वदायी भुमिका खेल्दै आएको जिकिर गरे ।
नर्वेले नेपाललाई वार्षिक करिव ३ करोड अमेरिकी डलर सहयोग गर्दै आएको छ । नर्वेले मुख्यतया शिक्षा, नवीकरणीय ऊर्जा र सुशासनमा सहयोग गर्दै आएको छ ।
लैङ्गिक समानता र जलवायु परिवर्तनलाई पनि क्रस कटिङ मुद्दाहरूको रूपमा समावेश गरिएको छ । नेपालको मानव विकासको सवालमा नर्वे सरकारले शिक्षा, नविकरणीय उर्जा र शुसासनको क्षेत्रमा गरेको र लैङ्गिक समानता र जलवायुजन्य क्षेत्रमा सहयोग गर्न चाहेको बताए ।