साझाकथा संवाददाता
गाेरखा, पुस २३
गोरखाको पालुङटार नगरपालिका भित्र रहेको करिब १८ सय हेक्टर जमिनमा सिंचाइ सुविधा पुर्याउने गरी ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढेको छ।
पालुङटारमा सिचाइ सुविधा पुर्याउने गरी सरकारले २०७५ साल मंसिर १६ गते गोरखामा कार्यालय स्थापना गरेर काम थालेको हाे ।
कार्यालयले चेपेदेखि पालुङटार सिंचाइ गर्न करिब ५० किलोमिटरको नहर आवश्यक पर्ने प्रतिवेदन तयार गर्यो। चेपेदेखि ५० किलोमिटर नहर बनाउन वर्षौ समय लाग्ने, धेरै लामो नहर हुँदा पानी चुहावट हुन सक्ने भन्दै २०७७ मा १५ किलोमिटर घटाएर नहर ३५ किलोमिटरमा झारियो।
त्यसयतापनि सिंचाइ आयोजनाको काम अघि बढ्न सकेन। ३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिवर्तन गरेको छ।
३५ किलोमिटर नहर भन्दा लिफ्ट सिंचाइ निकै प्रभावकारी हुने उनले दाबी गरे। १८ सय हेक्टर जमिन सिंचाइ गर्न करिब २५ वटा लिफ्ट मर्स्याङ्दी नदीबाट लिफ्ट गरिनेछ।
नहर निर्माण गर्दा यो भन्दा धेरै लागत लाग्छ। निर्माण सम्पन्न गर्न समय लाग्ने, मर्मत खर्चिलो हुने, एक ठाउँमा नहर भत्किँदा सबै बन्द हुने, पानीको चुहावट हुँदा पर्याप्त पानी नपुग्ने समस्या हुने हुँदा लिफ्ट प्रभावकारी हुने प्राविधिकहरू बताउँछन्।
लिफ्ट गर्दा छिटो निर्माण सकिनेछ। एउटा लिफ्ट सकेपछि तत्काल किसानले सिंचाइ सुविधा पाउनेछन्। एक वर्षमा पाँच वटा निर्माण भयो भने त्यो तत्काल सुचारु गर्न सकिने कार्यालय प्रमुख आचार्यले बताए।
‘एउटा योजना पुरा भयो भने त्यहाँबाट निरन्तर सिंचाइ सुविधा गरेर लाभ लिन सकिन्छ’ उनले भने ‘चार वर्षदेखि रोकिएको आयोजनाले गति लिन्छ, पानीको स्रोत पनि सहज रुपमा जुटाउन सकिन्छ। ’ विद्युतीय लिफ्टबाट सिंचाइ गर्ने प्रस्ताव गरिएको छ।
‘सिंचाइमा विद्युत् महशुल छुट दिने सरकारको योजना छ, यसले किसानलाईपनि फाइदा पुग्छ’ आचार्यले भने।
लिफ्ट योजनाबनेपछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ। हस्तान्तरण भएको योजना उपभोक्ताको स्वामित्वमा भएपछि रेखदेख गर्ने र संरक्षणमापनि चासो हुन्छ।
एउटै नहर हुँदा उपभोक्ता धेरै हुने र रेखदेखमा पनि समस्या हुन सक्ने पालुङटार कुन्दुरटार आयोजनाका प्रमुख आचार्यले बताउँछन्।