काठमाडौं, पुस २३
बिहान खाजा (ब्रेक फास्ट) के खानुहुन्छ चियासँग ओट्स वा अन्य केही । शरीरलाई फिट र सुन्दर बनाउन सहरी बजारमा मर्निङ वाकपछि धेरैले ओट्स खाने गर्दछन् ।
यसमा बिटा गुलकाेल र भिटामिन, खनिज र प्रोटिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, दिनभर फुर्तिलाे र ऊर्जावान् राख्ने, हुँदा बिहानै ओट्स अर्थात् जौ अहिले सहरी क्षेत्रका धेरैको डाइट चार्टमा पर्ने गरेको छ ।
ओट्सले शरीरलाई फिट र सुन्दर राख्न मद्दत गर्ने हुनाले सर्वसाधारणदेखि सेलिब्रिटीसम्मको धेरै रोजाइमा परेको पोषणविद् कामना आचार्य बताउँछिन् । ‘पहिले पहिले घोडा बलियाे हुन्छ र धेरै कुद्न सक्छ भनेर घोडालाई पनि ओट्स खुवाउने चलन थियाे ।
ओट्सलाई होल ग्रेन अन्न मानिन्छ । यसमा प्रशस्त पौष्टिक तत्व हुन्छ । गुल्टेन–फ्री हुनुका साथै राम्रो भिटामिन, खनिज, फाइबर र एन्टिअक्सिडेन्टको राम्रो स्रोत पनि हो ।
ओट्सले हार्डवर्ड टीएच च्यानलको एक अध्ययनअनुसार ओट मिलको सेवनले उच्च रक्तचापको मात्रा कम गर्ने, मुटुरोगको जोखिम कम गर्ने, तौललाई नियन्त्रण गर्न मद्दत पुग्ने, ओट्समा पाइने बिटा–ग्लुकानले विस्तारै खाएको कुरा पचाउन सहयोग पनि गर्छ ।
यसले आन्द्रालाई सफा गर्ने र यसको कार्यप्रणाली सुधार गर्ने, जैविक एसिडले हानिकारक पदार्थलाई बाँध्छ र पाचनप्रणालीबाट हुँदै शरीरबाट बाहिर पठाउन मद्दत गर्ने पनि अध्ययनमा उल्लेख छ ।
ओट्समा क्यालोरी १६३, प्रोटिन ५ ग्राम, फ्याट ३ ग्राम, कार्बोहाइड्रेट ३२ ग्राम, फाइबर ४.५ ग्राम र सुगर एक ग्राम जति हुने भएकाले यसको दिनहुँ सेवन गर्दा पाचनक्रियालाई स्वस्थ राख्न मद्दत गर्ने, फाइबरले कोलेस्टेरोलको स्तर कम गर्ने, कब्जियत हुन नदिने र यसमा भएको फाइबरले पेट सफा गर्ने पोषणविद् आचार्यको भनाइ छ ।
‘ओट्समा पाइने बिटा गुलकोल र भिटामिन, खनिज र प्रोटिनले रोग प्रतिरोधात्मक क्षमता बढाउने, दिनभर ऊर्जावान् राख्ने, हुँदा बिहानको खाजामा समावेश सकिन्छ,’ उनले भनिन्, ’त्यति मात्र नभई ओट्समा हुने उच्च फाइबरको मात्राले रगतमा चिनीको मात्रा घटाउन पनि प्रभावकारी भएकाले मधुमेहका बिरामीका लागि प्रभावकारी हुने गर्छ ।’
जिम गर्नेहरुको लागि दैनिक खानेकुराको मेन्युमा पनि ओट्स राखिएको हुन्छ । धेरैले यसले वजन कन्ट्रोल गर्छ भन्ने पनि छ । तर ओट्समा बढी क्यालोरी हुने भएकाले यसलाई मात्रा मिलाएर खायो भने मात्र ताैल नियन्त्रण हुने आचार्य बताउँछिन् ।
वैज्ञानिक नाम एभेना स्टाभिया रहेको ओट्स स्कटल्याण्डमा सबैभन्दा पहिले भेटिएको मानिन्छ । यो स्कटल्याण्डको मुख्य खाद्यवस्तु थियो । बिस्तारै विश्वभर फैलिएको ओट्स जुनसुकै खालको माटोमा पनि उब्जन्छ ।
बजारमा पाइने ओट्स धेरै समयसम्म राख्दा बिग्रिने भएकाले प्याकेटमा राखिएको खानेकुरा त्यसमा उल्लेख गरिएको मितिभित्रै खाइसक्नुपर्छ । ओट्सको प्याकेट फुट्दा बिग्रिन सक्ने भएकाले किन्दा, प्याकेट कतैबाट च्यातिएको छैन भन्ने कुरामा ध्यान दिनुपर्छ ।
ओट्सको प्याकेट खोलेपछि तीन महिनाभित्र खाइसक्नुपर्ने हुन्छ । ओट्सले ग्याष्ट्रिक बढाउने हुनाले धेरैसमस्या भएकाेले भने खान नहुने पाेषणिवद्हरू बताछन् ।