रुपन्देही, पुस २३
तिलोत्तमा नगरपालिकामा एक सय १० घरधुरीलाई लालपुर्जा वितरण गरिएको छ। ७० वर्षदेखि भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाएपछि किसानहरू खुसी भएका छन् ।
उनीहरूले भोग चलन गर्दै आएको जग्गाको लालपुर्जा नहुँदा पेशा, व्यवसाय तथा छोराछोरीको अध्ययनका लागि ऋण लिन समेत नपाएर समस्या थियाे । वडा नम्बर १५ का ३५ र वडा नम्बर १७ का ७५ गरी १ सय १० घरधुरीलाई एक कार्यक्रमको आयोजना गरी नगरप्रमुख रामकृष्ण खाँण र उपप्रमुख जागेश्वरदेवी चौधरीले पुर्जा वितरण गरेका हुन ।
७० वर्षदेखि भोगचलन गर्दै आएका भूमिहीनहरूले हालसम्म पनि जग्गाधनी प्रमाणपत्र (लालपुर्जा) पाएका थिएनन् । लालपुर्जा वितरण कार्यक्रममा बोल्दै नगरप्रमुख रामकृष्ण खाणँले जग्गाधनी पुर्जा वितरण गर्नु खुसीको कुरा भएको बताए ।
एक पुस्ता बितिसक्दा समेत लालपुर्जा नपाएका भूमिहीनहरूको लागि खुसीको कुरा भएको उनले बताए । व्यवसाय गर्न ऋण लिन, विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूका लागि समेत लालपुर्जाले अव सहज हुने उनले उल्लेख गरे ।
नापी कार्यालय भैरहवाका प्रमुख सुग्रीव यादवले तिलोत्तमा-१५ मा ३५ घरधुरी र वडा नम्बर १७ का ७५ घरधुरीलाई गाउँ ब्लक अन्तर्गतको लालपुर्जा वितरण गरिएको बताए । रुपन्देहीमा १ हजार ८ सय ५० र गाउँ ब्लक रहेकोमा अहिलेसम्म ६ सय ब्लकमा काम सकिएको छ ।
नगरपालिकाका उपप्रमुख जागेश्वरदेवी चौधरीले लालपुर्जा वितरणले स्थानीयमा खुसी छाएको बताइन् । जग्गा धनी पुर्जा दिन बाँकी १३ सय ५० गाउँ ब्लकमा विभिन्न चरणमा काम भइरहेको बताउँदै उनले लालपुर्जा नभएको क्षेत्रमा प्रक्रिया पूरा गरी वितरण गरिने बताए ।