साझाकथा संवाददाता
बुटवल, पुस २४
नेपाली काँग्रेसका नेता दिपकुमार उपाध्यायले नेकपा एमालेले राष्ट्रपति र सभामुख पाएपछि एमालेले प्रचण्डको साथ छोड्ने बताएका छन् ।
नेता उपाध्यायले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो स्वार्थ पूरा गरेपछि प्रचण्डलाई धोका दिने तर्क गरेका हुन् ।
शनिबार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा नेता उपाध्यायले एमालेले राष्ट्रपति र सभामुखलगायत महत्वपूर्ण पदलाई प्राप्त गर्नका लागि विश्वासको मत दिने र त्यसपछि साथ छोड्ने जिकिर गरेका हुन् ।
भर्खरै सम्पन्न निर्वाचनले नेपालको पुरानो दुई ठूला पार्टीहरु कांग्रेस र एमाले कमजोर बनेको भन्दै समयमा नै सचेत भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
उपाध्यायले दलहरूभित्र रहेको भागवण्डा, गुटबन्दी नैतिक मूल्य मान्यतामा ह्रास हुँदै गएकाले देशको राजनितिक, आर्थिक र सार्वभौम अवस्था जटिल अवस्थामा पुगेको उनले बताए ।
देशको खलबलिएको स्थितिलाई जोगाउन पुराना दलहरु सच्चिन जरूरी रहेको उउनको भनाइ छ । नेता उपाध्यायले पछिल्लो राजनीतिक घटनाक्रमले दलका नेताहरुले विचारको राजनीति भन्दा सत्ता स्वार्थमा निहीत भएर राजनीति गरेको समेत आरोप लगाए ।