त्रिशूली, पुस २४
वर्षेनी हुने नुवाकोटको तारुकामा २८ हल गोरु जुधाइने भएको छ । यसपटक २ दिन गाेरू जुधाइने भएकाे छ ।
तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा हरेक वर्ष जस्तै यसवर्ष पनि माघेसङ्क्रान्ति मेलाको अवसरमा जुधाउन २८ हल गोरु दर्ता भएको ‘माघे सङ्क्रान्ति गोरु जुधाइ महोत्सव’ व्यवस्थापन समितिका अध्यक्ष मदन श्रेष्ठले जानकारी दिए ।
गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस पटक दुई दिन गोरु जुधाउन लागिएको हो ।
“अघिल्ला वर्ष मेलाका रूपमा मनाइने गरिएको भए पनि यो वर्ष महोत्सवका रूपमा दुई दिन मनाउन लागिएको छ”, उनले भनेभयो, “गोरुलाई समय निर्धारण नगरी जुधेसम्म जुधाइने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारमार्फत लोकदोहोरीलगायतका अन्य मनोरञ्जनका गतिविधिसमेत समावेश गराउन लागिएको छ ।”
यसवर्ष रसुवाकाे बेत्रावतीमा पनि गाेरू जुधाउने भएकाे छ । स्पेनी बुलफाइटको झल्को दिने खालकाे नुवाकोटको तारकेश्वर गाउँपालिका–३ तारुका, चन्दनीस्थित कटहरबोट पाटोमा जुधाइने गोरुले स्पेनी बुलफाइटको झल्को दिने र नेपालका लागि बिल्कुलै नयाँ प्रतियोगिताका रूपमा परिचित छ ।
“पशु जुधाएर मनोरञ्जन लिन हँुदैन भनेर विरोधका आवाज उठ्नेदेखि धेरैपटक कार्यक्रम रोक्न पनि खोजियो”, विगतलाई स्मरण गर्दै उहाँ भन्नुहुन्छ, “गोरु जुधाइको ऐतिहासिक तथा सांस्कृतिक महत्वलाई संरक्षण गर्न र उनीहरूको जुध्ने रहेर पूरा गर्न निरन्तरता दिइएको हो ।”
तारुकाको गोरु जुधाइको अवलोकन गर्न आन्तरिकसरह नै बाह्य पर्यटक पुग्ने गर्दछन् । टेलिभिजनको पर्दामा स्पेनको बुलफाइट हेर्नेलाई हजारौँको बीचमा बसेर बारीको पाटोमा जुधाएको गोरुलाई स्पेनी झल्को मेटिनेमात्रै होइन त्यो भन्दा उत्कृष्ट हुने गरेको सहभागीको प्रतिक्रिया रहन्छ ।
तत्कालीन बझाङ्गी राजा विक्रमबहादुर सिंहको छोरा जयपृथ्वीबहादुर सिंह नुवाकोटको तारुकास्थित मामाघरमा आएको समयमा विसंं १८८७ मा पहिलोपटक गोरु जुधाएर रमाइलो देखाइएको थियो भन्ने भनाइ यहाँका बूढापाकाहरू सुनाउँछन् ।
त्यसलाई हरेक वर्ष माघेसङ्क्रान्तिको दिन निरन्तरता दिँदै आएकाले तारुकाको गोरु जुधाइको इतिहास झण्डै दुई सय वर्ष अगाडिदेखिलाई संरक्षण गरिएको हो । किसानले स्वतःस्फूर्त रूपमा जुधाउँदै आएको गोरुलाई एकीकृत गरेर व्यवस्थित भने विसं २०६२ देखि समितिमार्फत नेतृत्व लिइएको हो ।