तनहुँ, पुस २४
पर्यटकीय क्षेत्र शुक्लागण्की नगरपालिकाकाे दगाम गाउँमा पर्यटकहरू धेरै आकर्षित हुन थालेका छन् ।
लस्करै मिलेका चाँदीजस्तै टलक्क टल्केका हिमाल । अन्नपूर्ण, धवलागिरि, मनास्लुसहित माछापुच्छ्रेलगायत हिम चुचुरासँग नाङ्गा आँखा जुधाउन सकिन्छ ।
दक्षिण, पूर्व र पश्चिमतर्फ ठम्याउन सकिने नौवटा जिल्लाका रमणीय दृश्यहरू समेतलाई एकसाथ अवलोकन गर्न सकिनु यहाँको परिचय हो । प्राकृतिक सौन्दर्य, स्वच्छ हावापानी, जैविक खाना, मौलिक लोक संस्कृति, स्थानीयको आत्मीय व्यवहारले दगाम गाउँको अर्को परिचय दिँदै आएको छ ।
सरल, निश्चल र सहयोगी गाउँलेहरूमा ‘अतिथि देवो भवः’ भावना प्रष्ट झल्किन्छ । गाउँलेको निश्चल हाँसो, बोली र व्यवहारले टुटेपानी गाउँ पुग्ने जो–कोहीलाई लठ्ठ बनाउने गरेको छ ।
दगाममा मगर र भुजिकोटमा गुरुङ जातिको बाहुल्यता छ । तेइस घरमध्ये २० घर मगर र तीन घर गुरुङ बस्छन् । यहाँबाट हिमाल, डाँडासँगै शुक्लागण्डकी क्षेत्रको अतिरिक्त पोखरा फेवातालसम्मको दृश्यले यहाँ आउने जो–कोही लोभिने गरेका छन् ।
दगाम गाउँको प्रत्येक घरमा मौरीका घार यहाँको अर्को विशिष्टता हो । त्यसैकारण पनि यहाँको अर्को आकर्षण मौरी र मह बन्न पुगेको छ । दगाम पुग्नेले त्यहाँको अग्र्यानिक महको स्वाद लिन पाउँछन् ।
दगामको मह र मौरी देशका विभिन्न ठाउँमा पुगेको छ भने, मह विदेशसम्मै पुग्छ । पाहुना फर्किँदा स्थानीय मह कोसेलीका रूपमा लैजाने गरेको अध्यक्ष थापाले जानकारी दिनुभयो ।
मगर र गुरुङ जातिको संस्कृति यहाँको अर्को आकर्षण रहेको होमस्टे संयोजक नन्दराम थापा बताउनुहुन्छ । यहाँ कात्तिक–मङ्सिरमा बालन नाच, मङ्सिरदेखि माघसम्म नचरी, सोरठी र ख्याली, फागु पूर्णिमादेखि कौरा नाच देखाइने उहाँले जानकारी दिए ।
यी नृत्यका साथै घाँटुनाच पनि यहाँको अर्को मौलिकता हो । चैत–वैशाखमा वरपरका जङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले यहाँ आउने जो–कसैको मन लोभ्याउने गर्दछ ।
गाउँ पर्यटनमा प्रचुर सम्भावना बोकेर पनि पूर्वाधारको अभावका कारण दगाम ओझेलमा गरेको अर्का स्थानीयवासी तीलबहादुर थापामगर बताउनुहुन्छ । प्रकृति र संस्कृतिले सम्पन्न दगामलाई प्रवद्र्धनकै अभावमा पर्यटन बजारमा पुर्याउन नसकिएको उहाँको भनाइ छ ।