काठमाडौ, पुष २५
भारतको गुजरातबाट नेपालतर्फ आउँदै गरेको यात्रुबहाक बस भारतको लखनऊमा आज राति १२ बजे दुर्घटना हुँदा बसमा सवार ३ नेपाली र १ भारतीय नागरिकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा टीकापुर नगरपालिका कैलालीका चन्द्रबहादुर साउँद, ललित साउँद र एक जना महिलाको भने सनाखत हुन सकेको छैन । त्यस्तै, बसका चालक भारतीय नागरिकको पनि सनाखत हुन सकेको छैन ।
भारतको गुजरातबाट कैलाली, टीकापुर आउँदै गरेको बस लखनऊको उन्नाऊ भन्ने ठाउँमा दुर्घटना भएको होे । बसमा सवार ६६ यात्रुमध्ये अधिकांश घाइते भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका अनुसार केही यात्रुको स्वास्थ्य अवस्था भने चिन्ताजनक रहेको छ । बाक्लो हुस्सु लागेका कारण तीव्र गतिमा गुडिरहेको बसले रोकिराखेको ट्रकलाई ठक्कर दिदा दुर्घटना भएको अनुमान गरिएको छ ।
नेपाली यात्रु लक्षित गरि टीकापुरबाट भारतको गुजरात, सुरत, मुम्बई लगायतका क्षेत्रमा बस सेवा सञ्चालन हुँदै आएको छ ।