साझाकथा संवादाता
काठमाडाैं, पुस २५
प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रका समस्या समाधानका लागि आफूहरु छिटोछिटो प्रभावकारी दिशामा अघि बढिरहेको दाबी गरेका छन् ।
समृद्धिको अभियानमा बाधक रहेका नीति, ऐन र संरचना फेर्ने कुरामा सरकार प्रतिवद्ध रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सरकारको न्युनतम साझा कार्यक्रममा पनि दिगो आर्थिक विकास र अर्थतन्त्रको सबलीकरण प्रमुख एजेण्डाको रुपमा अघि सारेको बताए ।
आज काठमाडौंमा आयोजित ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीचको एकीकृत कारोवार शुरु भएको अवसरमा बोल्दै उनले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री दाहालले वित्तीय, मौद्रिक, पुँजिबजर, सहकारी, बीमा र निजी कम्पनीका निकायहरुबीच आवश्यक समन्वय गरी निजी क्षेत्रको लगानी प्रवद्र्धन गर्न आवश्यक, नीतिगत, संस्थागत तथा प्रक्रियागत सुधार गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ठूला परियोजनामा मात्र नभई नविनतम बैंकिङ तथा वित्तीय उत्पादन प्रयोग गरी आम जनताको वित्तीय क्षेत्रमा पहुँच, वित्तीय साक्षरता र स्वरोजगारका क्षेत्रमा समेत बैंकिङ क्षेत्रले योगदान गर्न जरुरी रहेको उनको भनाई छ ।
प्रधानमन्त्री प्रचण्डले युवालाई उत्पादनका क्षेत्रमा लाभदायी रोजगारी तथा उद्यमका अवसरमा लगाउनु पनि सरकारको लागि चुनौति रहेकाले जटिल र चुनौतिपूर्ण अवस्थाबाट सफल अवतरण गर्न सकारले तत्काल केही सुधार र केही संरचनागत सुधार गर्नुपर्ने आवश्यकता औँल्याए ।
उनले अर्थतन्त्र लगायत विभिन्न क्षेत्रमा नतिजामुखी काम तत्काल गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।